जापानको इसिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्प तथा त्यसपछिका परकम्पका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ।
सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इसिकावाको बाजिमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ।
भग्नावशेष र भत्किएका सडकका कारण खोजी र उद्धार कार्यमा असहजता कायमै छ। अहिलेसम्म क्षतिको यकिन विवरण आउन सकेको छैन।
भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मंगलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला परकम्प गएका छन्। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल सात रहेको र जमिनमा उभिन कठिन भएको थियो।
स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इसिकावाका अधिकारीहरूले सरकारलाई विपत् तथा राहतका लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारी पठाउन आग्रह गरेका छन्।
भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्याउन हेलिकाेप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन्।
क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिस भत्किएका घरमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटना आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन्।
जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सूचनाहरू हटाएको छ। यद्यपि, मौसम अधिकारीहरूले अर्को दुई–तीन दिनसम्म शक्तिशाली परकम्प आउन सक्ने चेतावनी दिएका छन्।