सेयर बजारमा लगानी गर्ने १९ देखि ३० वर्षका युवा बढी

७० वर्ष कटेका एक लाख ६० हजार ६ सय ५४ जना ज्येष्ठ नागरिकले गर्छन् सेयरमा लगानी

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

सेयर बजारमा १९ वर्षदेखि ३० वर्ष उमेर समूहकाले सर्वाधिक लगानी गरेको पाइएको छ । यी उमेर समूहमा डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्या बढी रहेको नेपाल क्लियरिङ लिमिटेड (सिडिएसी)को तथ्यांक छ । अहिले ६० लाख ५० हजारभन्दा बढीले डिम्याट खाता खोलिसकेका छन् । त्यसमध्ये १८ वर्षदेखि ३० वर्ष उमेर समूहका लगानीकर्ताको संख्या १८ लाख ८३ हजार पुगेको छ । यो समग्र लगानीकर्ताको ३१ प्रतिशत हो ।

त्यस्तै, सर्वाधिक कम डिम्याट खाता खोल्ने उमेर समूह भने ७० वर्षदेखि माथिका रहेका छन् । ज्येष्ठ नागरिकमा पर्ने उमेर समूहका एक लाख ६० हजार ६ सय ५४ जनाले डिम्याट खाता खोलेका छन् । यो भनेको करिब ३ प्रतिशत मात्रै हो । ६१ वर्षदेखि ७० वर्ष उमेर समूहमा भने तीन लाख १५ हजारले डिम्याट खाता खोलेका छन् । 

सिडिएसीका प्रवक्ता सुरेश न्यौपानेले सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाताको संख्या बढेको बताए । उनका अनुसार विशेष गरी युवा उमेर समूहको संख्या पछिल्लो समय बढेको छ । १८ वर्षदेखि ३० वर्षको उमेरदेखि नै लगानी गर्नुपर्छ भन्ने बानीको विकास तीव्र गतिले बढेको उनको भनाइ छ । 

६ हजार संस्थागत खाता 
सिडिएसीका अनुसार पछिल्लो समय ६ हजार सात सय डिम्याट खाता संस्थागत रूपमा खोलिएका छन् । संस्थागत रूपमा सबैभन्दा धेरै डिम्याट खाता खोल्नेमा बागमती प्रदेश रहेको छ । उक्त प्रदेशमा पाँच हजार पाँच सय ३३ रहेको छ । त्यस्तै, सबैभन्दा कम कर्णालीमा रहेको छ । उक्त प्रदेशमा १९ रहेको छ । त्यस्तै, कोशीमा ३०७, मधेशमा २५६ रहेको छ । गण्डकीमा २६४ रहेको छ भने लुम्बिनीमा २३८, सुुदूरपश्चिममा ५३ र अन्य ८८ रहेको सिडिएसीका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

५२ जना तेस्रो लिंगीको डिम्याट खाता 
डिम्याट खाता खोल्ने तेस्रो लिंगीको संख्या ५२ जना रहेको सिडिएसीले जनाएको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै २२ जना रहेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशमा १० जना, गण्डकी प्रदेशमा सातजना रहेको तथ्यांक छ । त्यस्तै, सुदूरपश्चिममा पाँचजना छन् ।  

डिम्याट खाता खोल्ने बागमती प्रदेशमा धेरै 
डिम्याट खाता खोल्नेमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ । बागमतीका २२ लाख ७८ हजारले डिम्याट खाता खोलेको तथ्यांक छ । जसमा महिला १० लाख १६ हजार छन् । सबैभन्दा कम डिम्याट खाता खोल्ने प्रदेशमा कर्णाली छ । कर्णालीमा महिला, पुरुष, तेस्रो लिंगी र संस्थागत गरी एक लाख ४४ हजार छन् । जसमा महिला ५२ हजार ६ सय रहेका छन् भने पुरुषको संख्या ९१ हजार पाँच सय आठ छन् ।

सुझावित समाचार