काठमाडौं महानगरका १३ वडाका छैनन् आफ्नै भवन

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण

देशको केन्द्रीय राजधानीमा अवस्थित काठमाडौं महानगरका ३२ मध्ये १३ वटा वडाको आफ्नै कार्यालय भवन छैन । बाँकी अधिकांश वडाका कार्यालय पनि सार्वजनिक भवनमा छन् ।महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार हालसम्म निर्माण भएकाबाहेक अरू वडाको भवन बनाउन सकिने सम्भावना पनि छैन । ‘अहिलेसम्म जतिका भवन छन् वा बनिरहेका छन्, तीबाहेक अन्य वडाको भवन बनाउन गाह्रो छ,’ प्रवक्ता मानन्धरले भने, ‘महानगरभित्र जग्गा नै छैन । महानगरले नै सार्वजनिक जग्गामा भवन बनाउन नदिने र नबनाउने निर्णय गरिसकेकाले अब अरू वडाको भवन बनाउने सम्भावना कमै छ ।’

 वडा नम्बर ११ को कार्यालय भवन निर्माण तीव्र
काठमाडौं महानगरपालिका–११ को प्रशासकीय भवन निर्माणले तीव्रता पाएको छ । बागदरबारको दक्षिण–पूर्वी कुनामा बागदरबारकै शैलीमा भवन निर्माण भइरहेको छ । २८ मंसिरमा वडाध्यक्ष हीरालाल तण्डुकारले भवन निर्माण शिलान्यास गरेका हुन् । हाल वडा कार्यालय बबरमहलको निजी भवनबाट सञ्चालन भइरहेको छ । यसअघि थापाथलीमा थियो । वडा नम्बर ११ को कार्यालय भवन निर्माण भइरहँदा वारिपट्टि अर्थात् पुरानो बसपार्कस्थित २८ नम्बर वडा कार्यालय भवन भने कहिले बन्ने अझै टुंगो छैन । २८ वडा जस्तै बाँकी १२ वडाका कार्यालय भाडामा वा सार्वजनिक भवनमा बस्दै आएका छन् । काठमाडौंलाई ०१० सालमा नगरपालिका घोषणा गरिएको थियो भने ०५२ मा महानगर बनाइएको थियो । ७० वर्षको इतिहास बोकेको महानगर आफैँ पनि भाडाको भवन (काठमाडौं प्लाजा)मा बस्दै आएको छ । 

 भवनकै कारण समस्या छैन :  महानगर 
वडाहरूको आफ्नै कार्यालय भवन नभए पनि सेवा प्रवाहमा कुनै समस्या नभएको महानगरले बताएको छ । वडा नम्बर ११ का अध्यक्ष तण्डुकारले सेवाग्राहीलाई सेवा दिन कुनै समस्या नभएको बताए । ‘अहिलेसम्म भाडाको भवनमा बसेर सेवा दिइरहेका छौँ । वर्षौँको प्रयासपछि आफ्नै प्रशासनिक भवन निर्माण हुनु वडावासीका लागि खुसीको कुरा हो,’ अध्यक्ष तण्डुकारले भने । 

वडा नम्बर २८ ले पनि सार्वजनिक भवनबाट सेवा दिइरहेको छ । वडा अध्यक्ष भाइराम खड्गीले भने, ‘आफ्नै भवन बनाउन पहल त भइरहेको छ, तर हालसम्म कुनै निर्णय भइसकेको छैन । तैपनि, सेवा प्रवाहमा कठिनाइ छैन ।’
वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले पनि कार्यालय भवनकै कारण समस्या नभएको बताए । उनीहरूजस्तै प्रवक्ता मानन्धरले पनि कार्यालय भवनकै कारण सेवा प्रवाहमा कुनै कमी नभएको दाबी गरे । ‘कार्यालय भवन नहुँदा पनि सहजै सेवा दिइरहेका छौँ,’ मानन्धरले भने, ‘भवन बन्नु र नबन्नु सरोकारको विषय होइन । सेवा दिएको छ–छैन, सरोकारको विषय हो ।’

 यी १३ वडाको आफ्नै कार्यालय भवन छैन 
वडा नम्बर ८ को कार्यालय भवन बनिरहेको छ भने वडा नम्बर १० पुरानै भवनमा बसेको छ । यी वडाले भाडा भने तिर्नुपर्दैन ।वडा नम्बर ११ निजी घरमा बहालमा बसेको छ भने वडा नम्बर ११ को कार्यालय भवन बन्दै छ । वडा नम्बर १३ को कार्यालय सार्वजनिक जग्गाको भवनमा छ भने १८ नम्बर वडाको आफ्नै भवन भए पनि कोठा अपुग भएकाले जनस्वास्थ्य केन्द्रको भवनमा भाडामा बसेको छ । वडा नम्बर १९ पुरानो भवनमा बसेकाले बहाल तिर्नुपर्दैैन । वडा नम्बर २३, २५ र २७ को कार्यालय स्थानीय क्लबको भवनमा छ । वडा नम्बर २८ सार्वजनिक भवनमा बसेकाले बहाल तिर्नुपर्दैन । वडा नम्बर २९ र ३० निजी घरमा भाडामा बसेका छन् भने ३२ नम्बर वडा कार्यालय पुरानो भवनमा बसेकाले बहाल तिर्नुपर्दैन ।

सुझावित समाचार