ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट तथा एक हजारसम्म क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले १६ पुसदेखि १७ माघसम्म डेबिट र क्रेडिट कार्ड तथा एससिटी कार्डबाट पिओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी २० हजारभन्दा माथिको कारोबारमा एक हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउनेछ ।
वार्षिकोत्सवकै अवसरमा नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम एक सय ७० रुपैयाँसम्मको छुट पाउनेछन् । यो क्यासब्याक योजना पुस १७ गतेदेखि २३ गतेसम्म लागू हुनेछ ।
सातै प्रदेशमा प्रभातफेरी
काठमाडौं÷ ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि बैंकले सातवटै प्रदेशका मुख्य–मुख्य सहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । यही पुस १७ गते बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७औँ वर्षमा प्रवेश गर्दै छ ।
काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यकाबाहिर मुख्य–मुख्य सहरहरू परिक्रमा गरेका थिए ।