कतार पुगेपछि खोसिन्छ नेपाली श्रमिककोे पासपोर्ट

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण

८८ प्रतिशत श्रमिक पुनः जान चाहन्छन्

वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको पासपोर्ट रोजगारदाताले खोस्ने गरेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी)ले कतारमा गरेको अध्ययनले कतारमा काम गरिरहेका नेपाली श्रमिकमध्ये ४९ प्रतिशतको पासपोर्ट कम्पनीले जफत गरेको पाइएको हो । 

आइटियुसीले मंगलबार सार्वजनिक गरेको अध्ययनमा कतारमा कार्यरत तीन सय ४५ जना नेपाली श्रमिक सहभागी भएका थिए । कतारका रोजगारदाताले श्रम कानुनविपरीत गएर श्रमिकको कागजपत्र खोस्ने गरेको श्रमिकले बताएका छन् । तुलनात्मक रूपमा अहिलेको अवस्थामा सुधार भएको अध्ययनमा उल्लेख छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले यसलाई जबर्जस्तीको श्रम भनेको छ । 

यसअघि कतारमा काफला सिस्टम थियो । यो सिस्टमअनुसार कतार गएका नेपाली श्रमिकले रोजगारदाताको अनुमतिविना अन्यत्र काम गर्न पाउँदैनथे । रोजगारदाताको अनुमतिविना स्वदेश पनि फर्कन पाउँदैनन् । यो व्यवस्थाले आप्रवासी श्रमिक बँधुवाजस्तै भएका थिए । रोजगारदाताको अनुमतिविना अन्यत्र गएमा कारबाही हुने भएकाले जस्तोसुकै अवस्थामा पनि श्रमिकहरू सोही कम्पनीमा काम गर्न बाध्य हुन्थे । तर, अहिले कतारले यो व्यवस्थालाई हटाएको छ । उचित कारण भएमा श्रमिकहरू एक कम्पनी छाडेर अन्य कम्पनीमा पनि काम गर्न जान पाउने व्यवस्था गरिएको छ । 

९९ प्रतिशतले भुक्तानी गर्छन् भर्ना शुल्क
वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली श्रमिकमध्ये ९९ प्रतिशतले सेवा शुल्क भुक्तानी गर्ने गरेको पाइएको छ । आइटियुसीले गरेको अध्ययनमा सहभागी भएका श्रमिकमध्ये अधिकांशले म्यानपावर एजेन्सीलाई भर्ना शुल्क भुक्तानी गरेर नै कतार पुगेको बताएका थिए । १ प्रतिशत श्रमिकले मात्रै कुनै पनि शुल्क भुक्तानी नगरी कतार रोजगारीमा पुगेको बताएका थिए । 

श्रम मन्त्रालयले ०७२ सालमा नै निःशुल्क भिसा र निःशुल्क टिकटको व्यवस्था गरेको थियो । म्यानपावर व्यवसायीले भर्ना शुल्कबापत जम्मा १० हजार लिन सक्ने व्यवस्था गरेको छ । तर, मन्त्रालयको व्यवस्थाविपरीत म्यानपावर एजेन्सीले श्रमिकबाट चर्को शुल्क लिएको अध्ययनले देखाएको हो । 

त्यस्तै, ९७ प्रतिशतले स्वास्थ्य शुल्क, ९० प्रतिशतले अभिमुखीकरण तालिम शुल्क, ८५ प्रतिशतले प्रशासनिक शुल्क, ७७ प्रतिशतले बिमाशुल्क, ६ प्रतिशत ट्राभल शुल्क, ३ प्रतिशतले उपकरण शुल्क, २ प्रतिशतले सीपयुक्त तालिम शुल्क र २ प्रतिशतले सीप परीक्षण शुल्क पनि भुक्तानी गरेको बताएका छन् । आइएलओको मापदण्डअनुसार यस्तो सबै रकम रोजगारदाताले नै भुक्तानी गर्नुपर्नेछ । एजेन्सीले कुनै पनि खालको शुल्क श्रमिकबाट असुल्न नपाउने व्यवस्था छ । 

त्यस्तै, श्रमिकले नेपालमा सम्झौता गरेअनुसार पारिश्रमिक पनि नपाउने गरेको पाइएको छ । अध्ययनमा सहभागीमधये ४९ प्रतिशतले सम्झौता गरेअनुसारको पारिश्रमिक नपाइएको बताएका थिए । कतार सरकारले गरेको व्यवस्थाअनुसार आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक हजार रियाल छ । रोजगारदाताले खान र बस्नका लागि कम्तीमा पनि तीन सय र पाँच सय रियाल भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, रोजगारदाताले भने सरकारको व्यवस्थाको उल्लंघन गर्दै पारिश्रमिक कटौती गर्ने गरेको पाइएको छ । 

अध्ययनमा सहभागी नेपाली श्रमिकले पुनः आफूले सेवा लिएकै म्यानपावर कम्पनीको सेवा लिन इच्छुक नभएको बताएका छन् । सहभागीमध्ये ७२ प्रतिशत श्रमिकले पुरानै म्यानपावार एजेन्सीको सेवा नलिने बताएका छन् । यसैगरी, ८६ प्रतिशतले पुनः आफू सोही रोजगारदातासँग काम गर्न अनिच्छुक रहेको बताए । तर, ८८ प्रतिशत व्यक्ति पुनः रोजगारीका लागि कतार आउन चाहेको देखिएको छ । 

कतारमा करिब तीन लाख ५० हजार नेपाली श्रमिक छन् । नेपालीहरू निर्माण, सेवा, ड्राइभिङ र कृषि क्षेत्रमा कार्यरत छन् । सन् २०१७ देखि कतार सरकारले श्रम कानुन परिमार्जन गर्ने प्रतिबद्धता गरेको थियो । 

म्यानपावर एजेन्सीप्रति श्रमिकको विश्वास शून्य
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको म्यानपावर व्यवसायीप्रतिको विश्वास शून्यप्रायः देखिएको छ । आइटियुसीको अध्ययनअनुसार कतार जाने नेपाली श्रमिकमध्ये १ प्रतिशत मात्रै म्यानपावर एजेन्सीका माध्यमबाट रोजगारीमा गएको पाइएको छ । यो तथ्यांकले म्यानपावर एजेन्सीले श्रमिकको विश्वास गुमाइसकेको स्पष्ट हुन्छ । 

अध्ययनले ४८ प्रतिशत श्रमिक एजेन्टमार्फत रोजगारीमा गएको बताएका छन् । २२ प्रतिशतले भने आफन्तहरूको माध्यमबाट जानकारी पाएको बताएका छन् । त्यस्तै, २१ प्रतिशतले साथीबाट, ४ प्रतिशतले सामाजिक सञ्जालबाट, ३ प्रतिशतले पत्रपत्रिकाबाट र १ प्रतिशतले मात्रै म्यानपावर एजेन्सीमार्फत जानकारी पाएको बताएका छन् ।

वैदेशिक रोजगार ऐनले वैदेशिक रोजगार विभागबाट अनुमतिप्राप्त म्यानपावर एजेन्सीमार्फत मात्रै वैदेशिक रोजगारीमा जान सकिने व्यवस्था गरेको छ । नेपालमा नौ सय ३१ वटा यस्ता म्यानपावर एजेन्सी छन् । तर, ग्रामीण भेगमा भने एजेन्टहरू नै बढी सक्रिय हुने गरेका छन् । 

एजेन्टहरूकै कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक बढी ठगिएपछि नेपाल सरकारले वैदेशिक रोजगार ऐन संशोधन, २०७५ मार्फत एजेन्टसम्बन्धी व्यवस्था हटाएको थियो । तर, अदृश्य रूपमा वैदेशिक रोजगारीको क्षेत्रका एजेन्टहरू सक्रिय रहेको अध्ययनले देखाएको छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको सीधै म्यानपावर एजेन्सीसँग सम्पर्क नहुने श्रमविज्ञहरू बताउँछन् । श्रमिकले पनि म्यानपावर एजेन्सी भन्नेबित्तिकै शंकाको दृष्टिले हेर्छन् । तर, स्थानीय एजेन्टलाई भने बढी विश्वास गरेको पाइएको छ । स्थानीय एजेन्ट चिनेजानेको नै हुने हुँदा श्रमिकले बढी विश्वास गर्ने गरेको पाइएको छ । 

सुझावित समाचार