यो घटना त्यो वेलाको हो, जब भारत अंग्रेजको गुलाम थिायो । ग्वालियरको भिक्टोरिया स्कुलमा एकजना किशोर छैटौँ कक्षामा पढ्थे । पढ्नुका साथसाथै उनी खुब लगनले खेल्थे । पढाइमा उनी जति तेज थिए, त्योभन्दा तेज उनी खेल्नमा थिए । खेल्न पाएपछि उनी संसार बिर्सिएर त्यसैमा तल्लीन हुन्थे ।
सो स्कुलका प्रिन्सिपल एकजना अंगे्रज थिए । उनी अत्यन्तै रिसाहा र अनुशासनप्रिय हुँदाहुँदै पनि प्रतिभाका पारखी थिए । उनी आफ्ना विद्यार्थीको प्रतिभा पहिचान गरेर त्यसको उचित कदर गर्न कहिल्यै पछि पर्दैनथे ।
एक दिन उनको स्कुलछेउको एउटा घरबाट एकजना अंग्रेज सज्जन रिसले रातोपिरो भएर आए । उनी तिनै केटा, जो खेल्न पाएपछि संसार बिर्सिन्थे, उनैका बारे ती अंग्रेज प्रिन्सिपलसित गुनासो गर्न आएका थिए । रिसाउँदै भने, ‘हेर्नुस् प्रिन्सिपल सर, तपाईंको स्कुलको एउटा विद्यार्थीले हकीको बल यति जोडले हान्यो कि मेरो घरको पर्खाल नै चर्कियो । त्यस्तो उद्दण्ड विद्यार्थीलाई तपाईंले तत्काल विद्यालयबाट निष्कासन गर्नुपर्यो । त्यस्तो बदमास विद्यार्थीलाई स्कुलमा राखिराख्नुभयो भने भोलि अझै के–के उपद्रव गर्ने हो ।’
उनको उजुरी सुन्नासाथ प्रिन्सिपलले ती विद्यार्थीको विषयमा खोजबिन गरे । आखिर ती विद्यार्थीलाई उनको अगाडि ल्याइयो । प्रिन्सिपल उनलाई देखेर मुस्कुराए । उसलाई कडा सजाय दिनुको साटो उनले ती विद्यार्थीको ढाड थपथपाउँदै उसलाई एउटा हकी स्टिक र एउटा बल पुरस्कारका रूपमा दिएर थप उत्साहसाथ आफ्नो खेललाई निरन्तरता दिन हौस्याए । बाल्यकालमा ती प्रिन्सिपलले जुन केटालाई प्रोत्साहन गरेका थिए, उनी पछि भारतीय हकी टिमका कप्तान रूप सिंहका रूपमा परिचित भए ।