भारतबाट आयात हुने विषाक्त खाद्यान्नमा रोक लगाउनुपर्छ : सभापति राणा

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवाले विषाक्त र अस्वस्थकर खाद्यान्नको आयातमा कडाइ गर्नुपर्ने बताएकी छिन्। 

समितिमा शुक्रबार केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा भएको छलफलमा सभापति देउवाले सीमा नाकामा कडाइ गरेर आयातमा कडाइ गर्नुपर्ने बताएकी हुन्। 

सहज आयातकै कारण नेपाली किसानको केरामा भारतीय केरामा देखिएको टिआर फोर नामक घातक रोग देखिएको भन्दै सभापति राणाले यसको नियन्त्रणका लागि आयातमा कडाइ गर्नुपर्ने बताइन्। 

सीमाबाट आयात हुने विषाक्त र अस्वस्थकर खाद्यान्न नियन्त्रणका लागि कृषि, अर्थ, गृह र  वाणिज्य मन्त्रालयको टास्क फोर्स बनाउनुपर्ने उनले औल्याइन्। 

‘आगामी दिनमा अन्य रोग आउन नदिन के गर्ने ?’ उनले भनिन्, ‘भारतमा आउने बित्तिकै खुला सीमानाले नेपालमा पनि आउँछ, यसको रोकथामका लागि भारतका वैज्ञानिकसँग कुरा गर्नुपर्छ।’ नेपालको कृषि वैज्ञानिक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने उनको भनाइ छ। 

‘विषाक्त केरा र माछा आउँदा रोग भित्रिरहेको छ, नेपाली किसान मारमा परिरहेका छन्,’  उनले भने, ‘सीमा नाका र भन्सारमा अर्थ, गृह र वाणिज्य मन्त्रालयले कडाइ गर्नुपर्छ।’ 

सभापति राणाले सीमामा खटिने सुरक्षाकर्मीदेखि कर्मचारीसम्म जनशक्तिलाई खाद्य सुरक्षाबारे तालिम दिनुपर्ने बताइन्। यसका लागि उनले कृषि मन्त्रालयलाई आग्रह गरिन्। 

समितिमा कृषि मन्त्रालयले संक्रामक रोगलगायत कृषि तथा पशुसम्बन्धी ऐनको मस्यौदा भइरहेको जानकारी गराएको थियो। ‘रोग रोकथामका लागि सरकारले कृषि ऐन मस्यौदा नै गरेको रहेछ,’ सभापति राणाले भनिन्, ञयसले पनि धेरै कुरा समेट्ला।’ 

भारतबाट आयात हुने खाद्यान्न तथा पशुको गुणस्तर परीक्षणका लागि सीमामा अनिवार्य क्वारेन्टाइन राख्ने र जाँच गर्नुपर्ने बताइन्। 

यसैबीच समितिले बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके बर्दियाका सहकारीको निरीक्षण गर्ने निर्णय गरेको छ। त्यहाँ सहकारी पीडितसँग अन्तरक्रिया पनि हुनेछ। सभापति राणाकाअनुसार १८ र १९ पुसमा समितिको ७ सदस्यीय टोलीले निरीक्षण गर्नेछ।

सुझावित समाचार