अपांग संघको बेथितिविरुद्धको आन्दोलन तत्कालका लागि स्थगित

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

माग पूरा नभए एक महिनापछि पुनः आन्दोलनमा उत्रने चेतावनी

गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रमा भइरहेको अनियमितता र बेथितिविरुद्ध एक महिनादेखि जारी आन्दोलन स्थगित भएको छ । संघका अध्यक्ष साम्देन लामाले एक महिनाभित्र सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।

संघमा आश्रित अपांगता भएका व्यक्तिहरूले संघमा भइरहेको बेथिति तत्काल हल हुनुपर्ने भन्दै १५ बुँदे मागसहित ४ मंसिरदेखि आन्दोलन सुरु गरेका थिए । अपांग संघर्ष समितिका सदस्य पुष्पराज भट्टका अनुसार अध्यक्ष लामाले आन्दोलनमा उठेका माग एक महिनाभित्र पूरा गर्ने बताएपछि तत्कालका लागि स्थगित भएको हो । यदि एक महिनामा माग पूरा नभए पुनः आन्दोलन गर्ने उनको भनाइ छ ।  

१५ वर्षदेखि विनाटेन्डर चमेनागृह सञ्चालन
समितिका सदस्य भट्टका अनुसार संघमा सबैभन्दा ठूलो समस्या र बेथिति चमेनागृह सञ्चालनमा छ । ‘१५ वर्षदेखि विनाटेन्डर चमेनागृह सञ्चालन भइरहेको छ । चमेनागृहमा खाना खाने मान्छे नै छैनन्, तैपनि संघले हरेक महिना चमेनागृहका लागि पाँच लाख खर्च गरिरहेको छ ।’ संघमा सरकारको सिफारिसका ५२ सहित ९० जना शारीरिक र बौद्धिक अपांगता भएका व्यक्ति आश्रित छन् । समितिले ४ मंसिरदेखि कार्यालयमा तालाबन्दीलगायतका विरोधका कार्यक्रम गर्दै आएको थियो । 

माग सम्बोधनको प्रक्रिया अगाडि बढिसक्यो : अध्यक्ष लामा
अपांग संघका अध्यक्ष साम्देन लामा भने माग सम्बोधन भएर अगाडि बढिसकेको बताउँछन् । उनका अनुसार समितिले राखेका माग सम्बोधन गर्ने क्रममा सरसफाइको काम सुरु भइरहेको र शारीरिक र बौद्धिक अपांगता भएका व्यक्तिलाई छुट्टाछुट्टै भवनमा राख्ने गरी काम भइरहेको छ । अध्यक्ष लामाले भने, ‘सरसफाइका काम भइरहेका छन् । अन्य माग क्रमैसँग समाधान गर्दै जानेछौँ ।’ चमेनागृह सञ्चालनको विषयमा भने अदालतको ‘स्टे अर्डर’ आएका कारण गत १० मंसिरमा केन्द्रीय समितिको बैठकले नियमअनुसार नै जाऔँ भन्ने भएकाले सोहीअनुसार अगाडि बढेको लामाले बताए । 

संघमा आश्रितका यस्ता छन् माग
अपांग संघबाट सञ्चालित मेस (चमेनागृह) तुरुन्त खाली गरी सुस्त मनस्थिति भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्नुपर्ने, सार्वजनिक विज्ञापन नगरी मनोमानी ढंगबाट नियुक्ति गरिएका सम्पूर्ण कर्मचारी तुरुन्त बर्खास्त गर्नुपर्ने, अपांगता भएका विद्यार्थीले संघलाई बुझाएको मासिक रकम ६ हजार मिनाहा गर्नुपर्ने, अपांगता भएका व्यक्तिका लागि आवासीय सुविधासहित निःशुल्क सीप तालिमको व्यवस्था गर्नुपर्ने, संघमा आश्रित अपांगता भएका विद्यार्थीलाई मानसिक यातना दिने निर्णयहरू तुरुन्त खारेज गर्नुपर्ने, संघमा कर्मचारी नियुक्ति गर्दा योग्यतामा आधारित भई अपांगता भएकालाई विशेष प्राथमिकतामा राख्नुपर्ने, नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अपांगता भएका व्यक्तिहरूको आवासीय पुनस्र्थापना सेवा सञ्चालन कार्यविधि, ०७४ अनुसार तोकिएको सेवा–सुविधा तत्काल लागू गर्नुपर्ने, संघको विधानअनुसार पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्न माग छ ।

सुस्त मनस्थिति (अपांगता भएका व्यक्तिहरू)बाट १५–२० लाख असुल गरी राख्ने व्यापारको अन्त्य गर्नुपर्ने, संघमा आश्रित व्यक्तिका लागि आवश्यक सहायक सामग्री ह्विलचियरका पांग्रा, इलेक्ट्रिक ह्विलचियरका ब्याट्रीलगायत सामग्रीहरूको व्यवस्था गर्नुपर्ने, शारीरिक र बौद्धिक अपांगता भएका व्यक्तिलाई एउटै भवनमा राख्दै आएकोमा मानसिक अपांगता भएका व्यक्तिलाई छुट्टै भवनमा राख्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । यसैगरी, संघमा आवासीय पुनस्र्थापना सेवा लिँदै आएका अशक्त, अपांगता भएका व्यक्तिहरू बिरामी परेको खण्डमा तुरुन्त अस्पताल लैजाने व्यवस्था गर्नुपर्ने साथै आपत्कालीन अवस्थामा एम्बुलेन्स तथा संघको गाडी प्रयोग गर्न पाउने व्यवस्था गर्नुपर्नेलगायत १५ बुँदे माग राखेका छन् । 

शारीरिक अपांगता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालिम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले ०२६ सालमा खगेन्द्र नवजीवन केन्द्र स्थापना भएको हो ।

सुझावित समाचार