कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल रारामा साउनयता पाँच महिनाको अवधिमै ६ हजार दुई सय पर्यटक रारा घुम्न आएका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ देखि मंसिर मसान्तसम्म आन्तरिक पर्यटक ६ हजार ७५, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी पाँच महिनामा ६ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेका हुन् ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी जयहरि धितालका अनुसार पाँच महिनाभित्र ६ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेका छन् । यस वर्ष रारामा आन्तरिक तथा बाह्य पर्यटक आगमनको संख्या आशालाग्दो हिसाबले वृद्धि भएको उनको भनाइ छ ।

दसैँ–तिहार बिदाको मौका पारी आन्तरिक पर्यटक रारामा घुम्न बढी आएका छन् । पाँच महिनाभित्र पर्यटकबाट करिब १८ लाख राजस्व असुली भएको कार्यालयले जनाएको छ । गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना तथा अन्य विदेशी एक सय ८३ जना आएका थिए । कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमनको संख्या बढ्ने देखिएको छ ।

निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तकि पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ ।
हवाईमार्गबाट र सडक यातायातबाट पर्यटक रारा घुम्न आउने गरेका छन् ।

सडक यातायात र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको पर्यटन व्यवसायी गुनासो गर्छन् । रारा क्षेत्रमा पर्यटकलाई वास बस्ने सुविधायुक्त पर्याप्त होटेल र मनोरञ्जनका साधनसमेत पर्याप्त छैनन् ।



