उपाधिका लागि दिनेश र जयराम भिड्ने

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

साबिक विजेता दिनेश प्रजापति र चौथो वरीयताका जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन् ।‌ रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको सेमिफाइनलमा तेस्रो वरीयताका दिनेश १६औँ होलमा सातौँ वरीयताका रामे मगरलाई ३–२ ले हराउँदै लगातार दोस्रोपटक फाइनल स्थान बनाउन सफल भए । दिनेशले ९ होलको समाप्तिमा दुई स्ट्रोकको अग्रता लिएका थिए । अब उपाधि रक्षा गर्न उनलाई एक जित टाढा छ ।

अर्को सेमिफाइनलमा चौथो वरीयताका जयरामले नवौँ वरीयताका भुवनकुमार रोकालाई प्रतिस्पर्धामक खेलको अन्तिम होलमा हराए । नवौँ होलको समाप्तिमा जयरामले एक स्ट्रोकको अग्रता बनाएका थिए । भुवनले पुनरागमन‌ गर्दै १५ होलको‌ समाप्तिमा एक अग्रता लिए । १६औँ‌ र १७औँ होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । 

प्रतियोगिताको क्वार्टरफाइनलमा नवौँ वरीयताका भुवनकुमार रोकाले अप्रत्याशित नतिजा निकाले । उनले पहिलो वरीयताका दाबेदार भुवन नगरकोटीलाई ४–३ ले हराए । जयरामले पाँचौँ वरीयताका सञ्जय लामालाई २–१ ले निराश पारे । दिनेशले छैटौँ वरीयताका रवि खड्काविरुद्ध अन्तिम होलमा संघर्षपूर्ण जित निकाले ।

रामे मगरले क्वार्टरफाइनलमा १५औँ वरीयताका प्रदीपकुमार लामालाई २–१ ले माथ दिए । शुक्रबार दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुनेछ । तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४२ हजार रुपैयाँ पाउनेछन् ।

सुझावित समाचार