‘अधिकार माग गर्ने चेतना संघीयताले दिएको हो’

बिहिबार, १२ पुष, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ संघीयताले दिएको बताएका छन्। 

आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

संघीयता कार्यान्वयनको सुरुवात राम्रो भएको बताउँदै उनले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताए। उनले भने, ‘जनतामा शिक्षाको, स्वास्थ्यको, रोजगारको, विकासको चेतना संघीयताले दिएको हो।’ 

संघीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागेको उनको भनाइ छ। उनले तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण र कार्यान्वयनका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासंघको सहभागितामा छलफल कार्यक्रम राखिएको बताए।

कार्यक्रममा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनताले तीन तहको सरकारको अनुभूति गर्न नसकेका कारण अधिकार बाँडफाँटसँगै अक्षरशः कार्यान्वयनमा तत्कालै लैजान आवश्यक रहेको बताइन्। 

उनले प्रदेश र स्थानीय तह एक भएर संविधानलाई कार्यान्वयनमा लैजाँदा विकास र उत्साहको मूल फुट्ने बताइन्। यसका साथै उनले सरकारलाई सिक्दै छु भन्ने छुट नभएकाले समन्वयको आवश्यकता रहेको बताइन्।

कार्यक्रमको अध्यक्षता गरेका नगरपालिका महासंघ नेपालका अध्यक्ष भीमप्रसाद ढुंगानाले अब सरकारले प्राप्त अधिकार कार्यान्वयन गर्दा संघीयताको मूल मर्म जोगिने बताए। 

See More On

सुझावित समाचार