अर्थले गर्‍यो शर्माले ल्याएको बजेटको मूल्यांकन : प्रक्रियामै अल्झिए ७६ कार्यक्रम, चारवटा सुरु नै भएनन्

बिहिबार, १२ पुष, २०८०
डिजिटल संस्करण

 गत २७ मंसिरमा अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो कार्यकालमा अर्थतन्त्रमा देखापरेका सुधारका परिसूचक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । त्यसको त्यसको एक महिना नबित्दै मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको गत आर्थिक वर्ष ०७९/८० को बजेट मूल्यांकन गर्दै झन्डै ८० वटा कार्यक्रम अलपत्र परेको जनाएको छ ।

पूर्वअर्थमन्त्री शर्माले ल्याएको बजेटमा अर्थमातहत एक सय ४१ कार्यक्रमको माइलस्टोन रहेकोमा ७६ वटा प्रक्रियामै अल्झिएको र चारवटा कार्यक्रमको सुरुवात नभएको प्रतिवेदनमा उल्लेख छ । गत वर्षको बजेटमार्फत नयाँ कार्यक्रमको रूपमा ल्याएको लघुवित्त कोष स्थापना मस्यौदामै सीमित बनेको थियो । चालू आर्थिक वर्षको बजेटले यो कार्यक्रमलाई निरन्तरता नदिएपछि सरकार पछि हटेको स्पष्ट भएको छ । 

 कृषि कर्जा किसानलाई सरल र सहज उपलब्ध गराउन एक लघुवित्त कोष स्थापना गर्ने बजेटमा उल्लेख थियो । यो कोष ल्याउन उनले आफ्ना बैंक तथा वित्त सल्लाहकार शालिकराम पोखरेललाई अध्ययनको जिम्मासमेत दिएका थिए । पोखरेलकै अगुवाइमा मन्त्रालयले कार्यविधिको मस्यौदासमेत तयार पार्यो । तर, शर्मा बाहिरिएसँगै अर्थमन्त्री बनेका विष्णु पौडेलले यो कार्यक्रमलाई निरन्तरता दिएनन् ।

वर्तमान अर्थमन्त्री महतले पनि यो कार्यक्रमलाई अगाडि बढाउनु आवश्यक ठानेनन् । हरित ऋणपत्र निष्काशन गरी पूर्वाधार विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउने कार्यक्रम पनि अलमलमै छ । यसका लागि विनियमावलीको मस्यौदा तयार गरि मन्त्रिपरिषद्मा पठाए पनि हालसम्म पारित नभएको प्रतिवेदनमा उल्लेख छ ।

 त्यस्तै गत आर्थिक वर्षको बजेटमा विपन्न व्यक्ति, दलित तथा पिछडिएको क्षेत्रका स्थायी बासिन्दाले आफ्नै क्षेत्रमा सञ्चालन गर्ने व्यवसायमा सहुलियतपूर्ण कर्जाको ब्याजदरमा थप १ प्रतिशत बिन्दुले छुट दिने कार्यक्रम ल्याएको थियो । मन्त्रालयले यसका लागि सहुलितयतपूर्ण कर्जासम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको थियो । तर, हालसम्म संशोधन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । बचत तथा ऋण सहकारीको सुपरिवेक्षण गर्न अलग्गै दोस्रो तहको नियामकीय निकाय स्थापना गर्ने कार्यक्रम अघि बढ्न सकेन । 

गत आर्थिक वर्ष ०७९/८०मा कोभिड– १९ प्रभावित साना व्यवसायी तथा पर्यटन क्षेत्रका उद्योगीमध्ये ६ लाख ५२ हजार हजार तीन सय ६७ जनाले कर छुट लिएको प्रतिवेदनमा उल्लेख छ । 

सुझावित समाचार