ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबीच समझदारी

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबीच ‘काठमाडौं ट्रिएनाले’ सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा प्रतिष्ठानको तर्फबाट सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनको तर्फबाट निर्देशक संगीता थापाले बुधबार हस्ताक्षर गरेका हुन्।

नेपाली कलालाई विश्वसामु चिनाउने, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूबीच कलासम्बन्धी विचारको आदान–प्रदान गर्ने–गराउने र कलामार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कला महोत्सवका रूपमा आयोजना हुँदै आएको ‘काठमाडौं ट्रिएनाले’लाई अझ फरक र पृथक् रूपमा अघि बढाउनका लागि प्रतिष्ठान र फाउन्डेसनले सहकार्य गरेका हुन्।

यससँगै ‘काठमाडौं ट्रिएनाले’ अब प्रतिष्ठान र फाउन्डेसनको संयुक्त कार्यक्रम हुनेछ । काठमाडौं ट्रिएनालेका संस्थापकका रूपमा सिद्धार्थ आर्टस् फाउन्डेसनका निर्देशक संगीता थापाको योगदानलाई निरन्तरता दिने गरी आगामी दिनमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्टस् फाउन्डेसनको संयुक्त आयोजनामा कला महोत्सवका रूपमा ‘काठमाडौं ट्रिएनाले २०८२’ को संस्करण र त्यसपछि हुने विभिन्न संस्करणहरू संयुक्त रूपमा आयोजना गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । 

समझदारीअनुसार ट्रिएनालेको प्रत्येक संस्करणमा नेपाली कलाको इतिहास र अग्रज नेपाली कलाकारको योगदान झल्किने विशेष प्रदर्शनीको आयोजना गरिनेछ । नेपालका विभिन्न कला क्याम्पस एवं कला संस्थाहरूसँगको सहयोग, समन्वय र साझेदारीमा विद्यार्थी ट्रिएनालेको समेत आयोजना गरिनेछ ।

काठमाडौं ट्रिएनालेको मुख्य कार्यक्रम काठमाडौंमा तथा काठमाडौंबाहिर (नेपालभर)का अन्य स्थानमा स्याटेलाइट इभेन्टका रूपमा सञ्चालन गरिने बताइएको छ।

सुझावित समाचार