नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउने

पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेन्जर्स इलिमिनेटर खेलमा ललितपुरसँग ३–० ले पराजित भएपछि लिगमा नयाँ विजेता बन्ने पक्का

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

साबिक विजेता काठमाडौं रेन्जर्स इलिमिनेटरबाट बाहिरिएसँगै दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)ले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । दरशथ रंगशालामा मंगलबार ललितपुर एफसीले उपाधि रक्षा गर्ने रणनीतिमा रहेको काठमाडौंमाथि मंगलबार दशरथ रंगशालामा ३–० को सानदार जित निकाल्यो ।

तीन वर्षअघिको पहिलो संस्करणको फाइनलमा धनगढीलाई १–० ले हराउँदै काठमाडौंले उपाधि जितेको थियो । १० खेलाडीमा सीमित काठमाडौं चौथो भेटमा आएर ललितपुरसँग पहिलोपटक पराजित भयो । ललितपुरको जितमा विदेशी खेलाडी नायम बने । ६ हजार समर्थक उपस्थित खेलमा नाइजेरियन स्ट्राइकर इमोह इजिकिलले दुई तथा फ्रान्सेली स्ट्राइकर पापा इबोउ केबेले एक गोल गरे । 

जितसँगै ललितपुरले गत संस्करणको इलिमिनेटरमा काठमाडौंसँग व्यहोरेको हारको बदला पनि लिएको छ । लिग चरणको खेलमा काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो । पहिलो संस्करणको लिग चरणमा पनि काठमाडौंले १–० र इलिमिनेटरमा ३–० ले हराएको थियो । 

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले नतिजा स्विकार्ने र अक्सनदेखि नै टोली कमजोर रहेको प्रतिक्रिया दिएका छन् । ‘साबिक विजेताको उपाधि सुरक्षित राख्ने योजना थियो, मार्की छनोट र अक्सनबाटै टोली अलिकती सन्तुलित भएन,’ प्रशिक्षक महर्जनले भने । हिसुब थपलिया मार्की रहेको काठमाडाैं लिग चरणमा तेस्रो भएर इलिमिनेटर खेलेको थियो । अन्तिम खेलमा ललितपुरलाई हराउँदा काठमाडौं प्ले अफमा स्थान बनाउन सफल भएको हो । 

प्रशिक्षक महर्जनले सेमिफाइनल पुग्ने आफ्नो लक्ष्य भने पूरा भएको बताए । ‘हाम्रो लक्ष्यअनुसार सेमिफाइनल पुग्नु नै सन्तुष्ट छु । यहाँ पुग्दा खुसी छु । राष्ट्रिय लेभलको राम्रो खेलाडी भएन,’ उनले भने, ‘तर, पनि ललितपुरसँग टप फाइट भयो ।’ उनले रेफ्रीको निर्णयमा सन्तुष्टि हुने स्थान नरहेको प्रस्ट पारेका छन् । पहिलो गोल नै अफसाइड भएको र अनावश्यक रातो कार्ड देखाएको प्रतिक्रिया उनले दिएका छन् ।

खेलको ७४औँ मिनेटमा काठमाडौंका कप्तान अञ्जन राईले दोहोरो पहेलो कार्डपछि मैदान छाडेका थिए । ललितपुरका पापा केबेमाथि फाउल गरेपछि भारतीय रेफ्री राम दासले अञ्जनलाई रातो कार्ड देखाउँदै बाहिर पठाएका हुन् । प्रशिक्षक महर्जनले खराब प्रदर्शन निरन्तर निस्किएपछि मार्की हिसुब र रक्षक कुलदीप कार्कीपछि अञ्जनलाई आर्म ब्यान्ड सुम्पिएका थिए ।

फाइनल प्रवेश गर्न पोखरा र ललितपुर भिड्ने
अब, उपाधिका लागि धनगढीले पोखरा र ललितपुरमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर्समा पराजित पोखरालाई अझै एक मौका रहेको छ । पोखरा र ललितपुरबीचको खेल बिहीबार हुनेछ । ललितपुरका प्रशिक्षक इआन आन्द्रे गिलानले बाँकी दुवै खेलमा मिहिनेत गरेर खेल्ने बताएका छन् ।

 उनले योजनाअनुसार सफल भएको प्रतिक्रिया दिए । ‘अबका दुवै खेल महत्वपूर्ण छन् । उपाधि जित्न गम्भीर छौँ । कुनै पनि खेल सहज हुने छैन,’गिलानले भने, ‘हामीले काठमाडौंविरुद्ध योजनाअनुसार नै खेलेका छौं, हाइ प्रेस खेल्ने योजना सफल भयो ।’ मिडफिल्डमा धेरै राम्रो भएको उनको भनाइ छ । अस्ट्रेलियन प्रशिक्षक गिलानले ललितपुरका युवा खेलाडीको भविष्य राम्रो रहेको र उनीहरू चाँडै राष्ट्रिय टोलीमा देखिने विश्वास राखे । 

अक्सनबाटै कमजोर थियौँ : बालगोपाल महर्जन, प्रशिक्षक, काठमाडौं
साबिक बिजेता भएकाले उपाधि सुरक्षित राख्ने योजना थियो । अक्सनमा म पनि चीन थिएँ । सोचेको र योजना बनाएको खेलाडी टोलीमा परेनन् । बाध्य भएर योजनामा नभएको खेलाडी लिनुपर्‍यो । अक्सनबाटै अलिकति सन्तुलित भएन । हाम्रो लक्ष्यअनुसार सेमिफाइनल पुग्नु नै सन्तुष्ट छु । यहाँसम्म पुग्दा खुसी छु । राष्ट्रिय लेभलको राम्रो खेलाडी नै भएन । हामीले ललितपुरविरुद्ध टप फाइट गर्‍यौँ । पहिलो गोल अफसाइड थियो । रेड कार्ड दिएकोमा चित्त बुझेको छैन । 

काठमाडौंविरुद्धको योजनामा सफल भयौँ : इआन आन्द्रे गिलान, प्रशिक्षक, ललितपुर 
खेल योजनाअनुसार भएको छ । हाई प्रेसिङ खेल्न सफल भयौँ । मिडफिल्डमा खेलाडीले धेरै राम्रो खेले । उत्तिकै मिहिनेत पनि गरेका छन् । युवा टोलीले पनि राम्रो खेलेका छन् । उनीहरूको भविष्य राम्रो छ । नेपाल फुटबलमा उनीहरूले राम्रो गर्न सक्छन् । हामीले धेरै गोल निकाल्ने प्रयास गर्‍यौँ । अन्तिम समयसम्म खेल्यौँ । खेलाडीमा जित्ने भावना छ । हामी उपाधि जित्न सिरियस छौँ । हरेक खेल महत्वपूर्ण छ । कुनै खेल सहज छैन ।

इमोनको दुई गोल 
ललितपुरको जितमा इमोहले दुई तथा केबेले एक गोल गरे । योसँगै प्रतियोगितामा दुवैले समान तीन गोल गरेका छन् । खेलको ३६औं मिनेटमा इमोहले ललितपुरलाई १–० अग्रता दिलाए । पापा इबोको प्रहार काठमाडौंका गोलरक्षक अन्जल श्रेष्ठले बचाए । तर, रिवाउन्ड भएको बललाई इमोहलेसहजै गोल गरे । खेलको ४४औँ मिनेटमा केबेले ललितपुलाई २–० को अग्रता दिलाए । भारतीय खेलाडी निखिल सुरेसरावो कदमको कर्नर मार्की तथा कप्तान अनन्त तामाङले हेडिङ गरेका थिए । खेलको ५२औँ मिनेटमा इमोहले व्यक्तिगत दोस्रो गोल गरे । निखिलको फ्रिकिकमा बक्सभित्र अनमार्क रहेका इमोलले सहज हेडिङ गोल गरेका हुन् । 

सुझावित समाचार