जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक केहीबेरमा बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा साढे बाह्र बजेतिर सुरु हुने कार्यकारिणीको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्ने बताइएको छ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि जसपा नेपालको तर्फबाट उम्मेदबार चयन गर्नुका साथै आजको कार्यकारिणी बैठकले यही पुस मसान्तमा आह्वान गरिएको केन्द्रीय समिति र राजनीतिक समिति बैठकको एजेन्डा तय गर्नेछ।
यही पुस २५ गतेदेखि काठमाडौंमा जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरिएको छ। सोही बैठकलाई निरन्तरता दिँदै पुस २६ र २७ गते केन्द्रीय समिति सदस्यहरूको बैठक बस्नेछ।
पार्टीले सञ्चालन गरेको संगठन विस्तार एवं सुदृढीकरण अभियानको प्रभावकारिताबारे बैठकमा छलफल हुनेछ। यसअघिको कार्यकारिणी बैठकले संगठन विस्तार एवं सुदृढीकरण अभियानको अवधि बढाएर पुस मसान्तसम्मलाई तोकेको थियो।