गुल्मीका चार स्थानीय तहमा खाद्य डिपो सञ्चालन

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

मुख्य बजार तम्घासबाट मालिका गाउँपालिका टाढा छ । आफ्नै केन्द्रबाट पनि लामो दूरीमा वडा र गाउँहरू छन् । जसका कारण नागरिकले सहुलियतमा गुणस्तरीय खाद्य उपयोग गर्न पाएका छैनन् । पहिले त सबै ठाउँमा सडकको राम्रो पहुँच पनि थिएन । बर्सातले सडक बन्द हुँदा भोकमरी हुने स्थिति थियो । पहिलेको अवस्थामा अहिले केही सुधार आए पनि मूल्यअनुसारको गुणस्तरीय खाद्यान्न उपलब्धताको सुनिश्चितता छैन । सोही कारण गाउँपालिकाले खाद्य डिपो सञ्चालनमा ल्याएको छ ।

मालिका गाउँपालिका–४ को अर्खाबाङमा स्थापना भएको खाद्य डिपोले गुणस्तरीय खाद्यान्न सुपथ मूल्यमा बिक्री गर्नुका साथै रैथाने बाली खरिद तथा प्रवद्र्धन गर्ने मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए । उनका अनुसार गाउँपालिकाले गत वर्षदेखि आलुको ब्रान्डिङ र बजारीकरण सुरु गरेको छ । अब डिपोमार्फत नै बजार पठाउने योजना गाउँपालिकाको छ । 

रेसुंगा नगरपालिकाको हाटबजार, मदाने गाउँपालिका–२ को बाँझकटेरी, मालिका गाउँपालिका–४ को अर्खाबाङ, रुरु क्षेत्र गाउँपालिका–४ को बलेटक्सारमा खाद्य डिपो स्थापना भएर सञ्चालनमा आएका हुन् । नेपाल सरकारको पूर्ण स्वामित्वप्राप्त खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडले तम्घासमा शाखा विस्तार गरेसँगै पालिकामा खाद्य डिपो सञ्चालन गरिएको हो । खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपो स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाकी शाखा अधिकृत पुष्पा पाण्डेयले जानकारी दिइन् ।

प्रत्येक डिपोमा एक स्थायी र एक अस्थायी कर्मचारी परिचालन भएका छन् । अहिले खाद्य डिपोबाट चामल बिक्री भइरहेको छ । केही दिनमै चामलसहित दाल, नुन, तेल, चिनीलगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने शाखा प्रमुख पाण्डेयले बताइन् । सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ५ देखि ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्नेछन् । उनले डिलरलाई ५ र सहकारीलाई ७ प्रतिशत सस्तोमा खाद्य सामग्री बिक्री गर्ने बताइन् । 

मालिका र इस्मामा कोदो पनि प्रशस्त पाइन्छ । तर, राम्रो बजार र मूल्य नहुँदा किसानको मिहिनेत खेर गइरहेको छ । अब खाद्य डिपोले लयमा काम गर्न सके स्थानीयका लागि निकै फाइदा हुने पालिका प्रमुख अर्यालले बताए । बुटवल र तम्घासबाट गाउँ ढुवानी धेरै हुने भएकाले खाद्य सामग्री महँगो पर्छ । तर, डिपोसम्म सरकारले ढुवानी गर्ने भएपछि नागरिकले सस्तोमा गुणस्तरीय खाद्यान्न उपयोग गर्न पाउने उनले बताए । 

घरदैलोमै डिपो खुलेर सस्तोमा खाद्यान्न पाएपछि निकै खुसी लागेको मालिका गाउँपालिका–४ का भेषबहादुर केसीले बताए । जिल्लाका चार स्थानीय तहमा खाद्य डिपो सञ्चालन गरिएको छ । गाउँमा सस्तो मूल्यमा खाद्यान्य सामग्री पाइने भएपछि स्थानीय उत्साहित छन् । नागरिकले सोधीखोजी गर्ने र आफूलाई आवश्यक सामग्रीको प्रतीक्षा गरिरहेको रुरु क्षेत्र गाउँपालिका–४ की खाद्य डिपो प्रमुख एलिना देवकोटाले बताइन् । 

सुझावित समाचार