राष्ट्रिय सभाका २० सदस्य चुन्न ११ माघमा हुन लागेको निर्वाचनका लागि कांग्रेसले मापदण्ड बनाएर उम्मेदवार टुंग्याउने भएको छ । १२ पुसमा सुरु हुने केन्द्रीय समिति बैठकबाट उम्मेदवारको मापदण्ड बनाउने र गठबन्धनसँग छलफल गरेर उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिने तयारी गरेको हो ।
‘प्रदेशबाट नाम आउने क्रममा छन् । १२ पुसमा सुरु हुने केन्द्रीय समिति बैठकले मापदण्ड बनाउने र छनोटको विषयमा थप छलफल गरेर टुंग्याउने गरी नेतृत्वलाई जिम्मेवारी दिने तयारी छ । बैठकपछि गठबन्धन दलसँग छलफल गरेर सिटको टुंगो लगाउँछौँ,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । २९ मंसिरमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रस्तावित उम्मेदवारका रूपमा नाम पठाउन प्रदेशलाई निर्देशन दिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको कार्यकाल २० फागुनमा सकिँदै छ ।
कांग्रेस संस्थापन समूहकै युवा नेता र शेखर कोइराला–गगन थापा समूह भने सभापति देउवाले पुरानै नेताहरूलाई उम्मेदवार बनाउने वचन दिएको भन्दै असन्तुष्ट छन् । कांग्रेसबाट राष्ट्रिय सभामा जान नेता कृष्ण सिटौला र गोपालमान श्रेष्ठसहितका शीर्ष नेताहरूको चर्चा छ । साथै पदाधिकारी, केन्द्रीय सदस्यलगायत धेरै नेताहरू आकांक्षीका रूपमा लबिङ गरिरहेका छन् । स्रोतका अनुसार सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी अगाडि सार्ने तयारी छ । साथै, प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेर पनि छनोटमा नपरेपछि सूचीबाट नाम हटाइएका श्रेष्ठ पनि राष्ट्रिय सभा प्रवेश गर्ने र अध्यक्ष बन्ने आकांक्षा राख्दै आएका छन् । दुवै नेतालाई सभापति देउवाले राष्ट्रिय सभामा लैजाने वचन दिएको देउवानिकट नेताहरू बताउँछन् ।
मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख
प्रदेशबाट नाम आउने क्रममा छन् । १२ पुसमा सुरु हुने केन्द्रीय समिति बैठकले मापदण्ड बनाउने र छनोटको विषयमा थप छलफल गरेर टुंग्याउने गरी नेतृत्वलाई जिम्मेवारी दिने तयारी छ । बैठकपछि गठबन्धन दलसँग छलफल गरेर सिटको टुंगो लगाउँछौँ ।
देउवाले अध्यक्षमा सिटौलाको विकल्प नदेख्ने अवस्थाका कारण इतरले नयाँलाई अवसर दिनुपर्ने सर्त अगाडि सारेको छ । लामो समय संवादमा नरहेका शेखर–गगन राष्ट्रिय सभाकै विषयका कारण एकठाउँमा देखिएका छन् । पछिल्लो समय संवादहीनता तोडिए पनि शेखर–गगन सम्बन्धले राष्ट्रिय सभा निर्वाचनपछि कस्तो आकार लिन्छ भन्ने स्पष्ट छैन । स्रोतका अनुसार इतरसमूहले डा. मीनेन्द्र रिजाललाई राष्ट्रिय सभा अध्यक्षका रूपमा अगाडि सारेको छ । रिजाल आन्तरिक लबिङमा रहेको नेताहरू बताउँछन् । तर, इतरसमूहका नेता मधु आचार्य आकांक्षा राख्ने नेताहरू लागे पनि कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो नलागेको बताउँछन् । हाल राष्ट्रिय सभा सदस्यनै रहेकी महिला र अनुभवको आधारमा कमला पन्तको नाम पनि राष्ट्रिय सभा अध्यक्षका लागि चर्चामा रहेको दाबी गर्छन् ।
‘कांग्रेस ठूलो र पुरानो पार्टी भएकाले धेरै नेताहरू राष्ट्रिय सभामा जाने चाहना राख्नु स्वाभाविक हो । राष्ट्रिय राजनीतिमा पहिचान बनाउनुभएका डा. मीनेन्द्र रिजाललगायतका नेताहरूले अध्यक्षमा दाबेदारी राख्नु स्वाभाविक हो । तर, हामीले मापदण्ड बनाएर संसदीय बोर्डबाट उम्मेदवार टुंगो लगाउनुपर्छ भनेका छौँ । केन्द्रीय समितिमा पनि हामी यो विषय उठाउँछौँ,’ आचार्यले भने, ‘अनुभव र समावेशिताका आधारमा उहाँ (कमला पन्त)लाई पनि नेताहरूले वचन दिनुभएको हो ।
यसबाहेक सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, अनुशासन समिति संयोजक आनन्द ढुंगाना, बलबहादुर केसी, अब्दुल सतार, सभापति देउवा प्रधानमन्त्री छँदा परराष्ट्र सल्लाहकार रहेका अरुण सुवेदीलगायत पनि आकांक्षीका रूपमा छन् । प्रचार विभाग प्रमुख विश्वकर्मा, डा. गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही मनोजमणि आचार्य, किरण कोइरालालगायतको नामबारे पनि कांग्रेसवृत्तमा चर्चा छ । यसबाहेक धेरै आकांक्षीहरू आ–आफ्ना तरिकाले लबिङमा छन् । कांग्रेसले अहिले नै उम्मेदवारको टुंगो लगाउँदा विवाद आउने देखेपछि केन्द्रीय समिति बैठकपछि गठबन्धनमा सिटको टुंगो लगाउने र अन्तिम समयमा उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । गठबन्धन बैठकमा यसबारे औपचारिक छलफल सुरु भएको छैन । निर्वाचन आयोगले २३ पुसमा मनोनयनको मिति तोकेको छ ।
त्यसो त, पटक–पटक अवसर पाएका पुरानै नेतालाई टिकट दिने आश्वासन दिएका कारण संस्थापनकै युवा नेताहरू असन्तुष्ट छन् । देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार नेताहरूले केन्द्रीय समिति बैठकअघि सामूहिक वक्तव्य जारी गर्नेसम्मको तयारीसहित छलफल गरिरहेका छन् । केन्द्रीय सदस्य किरण पौडेल अवसर नपाएकालाई राष्ट्रिय सभामा समेट्नुपर्ने बताउँछन् । ‘अवसर नपाएकालाई समेट्नुपर्छ । केन्द्रीय समिति बैठकमा पनि यो विषयमा छलफलका रूपमा लैजानेछाैं,’ उनले भने ।
शेखर–गगन समूहको २७ मंसिरमा बसेको भेलाले पटक–पटक अवसर पाएकालाई राष्ट्रिय सभामा रोक्न दबाब दिने निर्णय गरेको थियो । इतरले आफ्नो समूहबाट नाम र संख्या नतोकी मापदण्ड बनाएर उम्मेदवार छनोटका लागि केन्द्रीय समिति बैठकमा जोडदार रूपमा दबाब दिने तयारी गरेको छ । ‘यसपटकको राष्ट्रिय सभा निर्वाचनमा संविधानको भावनाअनुसार योग्यमध्येबाट अहिलेसम्म अवसर नपाएका तथा यसअघिका निर्वाचनमा भाग नलिएकाहरूलाई लैजानुपर्छ । कांग्रेसको उम्मेदवार छनोट न्यायोचित हुनुपर्छ । यसपटक सभापतिले टिकट बाँड्दैगर्दा सभापति सिंगो कांग्रेसको सभापति बन्नुपर्छ । हाम्रो दबाब यसमा रहनेछ,’ महामन्त्री थापाले भेलापछि भनेका थिए । डा. शेखर कोइरालाले पनि राष्ट्रिय सभाको उम्मेदवार चयनमा मापदण्ड बनाउनेबारे छलफल भएको बताएका थिए । ‘संसदीय बोर्डबाट उम्मेदवारको क्राइटएरिया बनाऔँ र त्यसलाई अगाडि सारेर उम्मेदवार तय गरौँ भन्नेबारे छलफल भयो,’ कोइरालाको भनाइ थियो । २७ मंसिरमा भेला राखेर एकैठाउँमा रहेको सन्देश दिएको इतरसमूहले त्यसयता कुनै भेला र कार्यक्रम गरेको छैन ।
प्रदेशबाट नाम आउने क्रममा छन् । १२ पुसमा सुरु हुने केन्द्रीय समिति बैठकले मापदण्ड बनाउने र छनोटको विषयमा थप छलफल गरेर टुंग्याउने गरी नेतृत्वलाई जिम्मेवारी दिने तयारी छ । बैठकपछि गठबन्धन दलसँग छलफल गरेर सिटको टुंगो लगाउँछौँ ।