साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.०३ अंकले घटेर दुई हजार ८८.०७ विन्दुमा आइपुगेको छ । दुई हजार एक सयको विन्दुमा रहेको सूचक आइतबार पुनः घटेको हो ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि करिब तीन सय अंकसम्मले बढेको बजारले अघिल्लो साता पाँच दिन भएको कारोबारमा बिहीबार पनि बजार करेक्सनमा गएको थियो । आज सुरुवाती समयमा बजार बढेको भए पनि लगानीकर्ताहरूमा नाफा बुक गर्ने होडले बजार करेक्सनमा गएको सेयर लगानीकर्ता बताउँछन् ।
यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका तीन सय नाै कम्पनीको एक करोड ८५ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ११ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा शिवम् सिमेन्ट लिमिटेड रहेको छ । कम्पनीको तीस करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, सोनापुर मिरल्स एन्ड आयल, घोराही सिमेन्ट इन्ड्रष्टी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड रुपैयाँदेखि २९ करोड ५० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
नाै कम्पनीको सेयर मूल्यमा सर्किट
आज नाै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बोटलर नेपाल (तराई) लिमिटेड, कालिका पावर कम्पनी, साम्लिङ पावर कम्पनी, विपिडब्लू लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रो पावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।
घटेको बजारमा ज्योति विकास बैंक बन्ड र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, आँखुखोला जलविद्युत् कम्पनी, हिमालयन डिस्टिलरीको सेयर मूल्य ६.८७ प्रतिशतदेखि ९.८५ प्रतिशतले घटेको छ ।