मुख्य बजारबाट मालिका गाउँपालिका टाढा छ। आफ्नै केन्द्रबाट पनि लामो दूरीमा वडा र गाउँहरू छन्। जसका कारण नागरिकले सहुलियतमा गुणस्तरीय खाद्य उपयोग गर्न पाएका छैनन्।
स्थानीय तहहरुमा पहिले सबै ठाउँमा सडकको राम्रो पहुँच पनि थिएन। वर्षातले सडक बन्द हुँदा भोकमरी हुने स्थिति थियो। अहिले पहिलेको अवस्थामा केही सुधार भए पनि मूल्यअनुसारको गुणस्तरीय खाद्यान्न उपयोगको सुनिश्चितता छैन। जसका कारण खाद्य डिपो सञ्चालनमा ल्याइएको छ।
मालिका गाउँपालिका– ४ को अर्खाबाङमा स्थापना भएको खाद्य डिपोले घरायसी प्रयोजनको लागि आवश्यक गुणस्तरीय खाद्यान्न सुपथ मूल्यमा बिक्री गर्ने र गाउँको रैथाने बालीको खरिद तथा प्रवर्द्धन गर्ने मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले बताए।
मालिकाले गत वर्षदेखि आलुको ब्रान्डिङ र बजारीकरण सुरु गरेको छ। अब डिपोमार्फत नै बजार पठाउने योजनामा गाउँपालिका रहेको छ। मालिका र इस्मामा कोदो पनि प्रसस्त पाइन्छ। तर, राम्रो बजार र मूल्य नहुँदा उपयोगहीन बनिरहेको सन्दर्भमा खाद्य डिपोले लयमा काम गर्न सके स्थानीयको लागि निकै फाइदा हुने पालिका प्रमुख अर्यालले बताए।
बुटवल र तम्घासबाट गाउँ पुग्दा लामो दूरीमा ढुवानी हुने भएकाले खाद्य सामग्री महँगो पर्छ। तर, डिपोसम्म सरकारले ढुवानी गर्ने भएकाले नागरिकले सस्तोमा गुणस्तरीय खाद्यान्न उपयोग गर्न पाउँछन्। घरदैलोमै डिपो खुलेर सस्तोमा खाद्यान्न पाएकोमा निकै खुसी लागेको मालिका गाउँपालिका– ४ का भेषबहादुर केसीले प्रतिक्रिया दिए।
जिल्लाका चार स्थानीय तहमा खाद्य डिपो सञ्चालन गरिएको छ। रेसुंगा नगरपालिकाको हाटबजार, मदाने गाउँपालिका– २ को बाँझकटेरी, मालिका गाउँपालिका– ४ को अर्खाबाङ र रुरु क्षेत्र गाउँपालिका– ४ को बलेटक्सारमा खाद्य डिपो स्थापना भएर सञ्चालनमा आएका हुन्।
नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तम्घासमा शाखा बिस्तार गरेसँगै पालिकामा खाद्य डिपो सञ्चालन गरिएको हो। खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपो स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाकी अधिकृत पुष्पा पाण्डेयले जानकारी दिइन्।
प्रत्येक डिपोमा एक स्थायी र एक अस्थायी कर्मचारी परिचालन भएका छन्। अहिले खाद्य डिपोबाट चामल बिक्री भइरहेको छ। केही दिनमै दाल, नुन, तेल, चिनीलगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने शाखा प्रमुख पाण्डेयले बताइन्।
सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले पाँचदेखि सात प्रतिशतसम्म सहुलियतमा प्राप्त गर्नेछन्। डिलरलाई पाँच र सहकारीलाई सात प्रतिशत सस्तोमा खाद्य सामग्री बिक्री गरिने पाण्डेयले जानकारी दिइन्। मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्याउने पनि कम्पनीको उद्देश्य रहेकाले खरिद–बिक्रीको काम डिपोबाट हुने बताइन्।
‘केही समय खाद्यान्न बिक्री गर्छौँ। बिस्तारै गाउँको रैथाने बाली खरिद गरेर बिक्री तथा प्रवर्द्धन पनि गर्नेछौँ,’ पाण्डेयले भनिन्, ‘सबैको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरेका छौँ।’ नजिकको डिपोबाट एकजनाले एक क्विन्टलसम्म खाद्यान्न खरिद गर्न पाउने व्यवस्था रहेको छ। कारागारलाई उधारोमा समेत खाद्यान्न बिक्रीको नीति रहेको शाखा अधिकृत पाण्डेयले बताइन्।
गाउँमा सस्तो मूल्यमा खाद्यान्न सामग्री पाइने भएपछि स्थानीय उत्साहित छन्। नागरिकले सोधिखोजी गर्ने र आफूलाई आवश्यक सामग्रीको प्रतिक्षा गरिरहेको रुरु क्षेत्र गाउँपालिका– ४ को खाद्य डिपो प्रमुख एलिना देवकोटाले बताइन्।