नेपाल सुपर लिग : प्ले अफ पुग्ने चारै टोलीको टुंगो

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

ललितपुर सिटी र काठमाडौं रेजर्सबीचको अन्तिम खेलसँगै नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको प्ले अफ पुग्ने चारै टोलीको टुंगो लागेको छ । ३६औँ खेलसँगै सहभागी नौ टोलीले नै समान आठ खेल खेलेका छन् । पोखरा तालिकाको शीर्ष स्थानमा रहेर प्ले अफमा स्थान बनायो । शीर्ष स्थानको पोखराको १५ अंक रह्यो । दोस्रो स्थानको धनगढीको १३ अंक छ । अन्तिम खेलमा ललितपुरलाई १–० ले हराएर १२ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा उक्लियो । हारले भने साबिक विजेता काठमाडौं बाहिरिने पक्का थियो । लगातार दुई खेल हारेर पनि १० अंक जोडेको ललितपुर झापालाई गोलअन्तरमा पछि पार्दै भाग्यमानी ठहरियो ।

समान दश अंक जोडेका झापा पाँचौँ र बुटवल लुम्बिनी छैटौँ स्थानमा रहे । चितवन ९ अंकसहित सातौँ र वीरगन्ज आठ अंकसहित आठौँ स्थानमै रह्यो । समान ८ अंक भए पनि गोलअन्तरमा इलाम पुछारमा रहेर लिग टुंग्याएको छ । यसपटक नयाँ टोलीको रूपमा आएका इलाम, झापा र वीरगन्ज प्ले–अफमा स्थान बनाउन सकेनन् । अन्तिम खेलमा बुटवलसँग १–० ले पराजित हुँदा वीरगन्ज अभागी बनेको हो । पहिलो संस्करण प्ले–अफ खेलेको बुटवल भने यसपटक अगाडि बढ्न सकेन । 

फाइनल प्रवेशका लागि सोमबार शीर्ष स्थानको पोखरा र दोस्रो स्थानको धनगढी भिड्नेछन् । तेस्रो स्थानमा रहेको काठमाडौं र चौथो स्थानमा रहेको ललितपुरले मंगलबार इलिमिनेटर खेल्ने तालिका छ । इलिमिनेटरको विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोली पुनः फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछन् । 

काठमाडौंको संघर्ष 
प्रतियोगिताको अन्तिम खेलबाट थप एक टोलीको प्ले–अफ टुंगो लाग्यो । त्यो भनेको साबिक विजेता काठमाडौं । उपाधि रक्षा गर्ने प्रशिक्षक बालगोपाल महर्जनको रणनीति भने निकै संघर्षपूर्ण रह्यो । अन्तिम खेलमा करिब सात हजार समर्थकमाझ काठमाडौंले ललितपुरलाई १–० ले हराउँदै प्ले–अफमा स्थान बनायो । तेस्रो स्थान प्राप्त गरेपछि काठमाडौंले आधा घन्टाजस्तो नै खुसियाली मनाएको थियो । स्ट्राइकर हिसुव थपलिया मार्की रहेको काठमाडौंले पहिलो खेलमा इलामलाई १–० ले हराएपछि दोस्रो जित निकाल्न पाँचौँ खेल कुर्नु परेको थियो । यतिवेलासम्म प्रशिक्षक महर्जनले हिसुब र कुलदीप कार्कीबाट कप्तानी आर्म ब्यान्ड रक्षक अञ्जन राईलाई सुम्पिएका थिए । अञ्जनको कप्तानीमा काठमाडौंले पोखरा थन्डर्सलाई र ललितपुरलाई हरायो ।  

ललितपुरलाई भाग्यको साथ 
ललितपुरले प्रतियोगिताअघि जुन प्रकारको वाचा गरेको थियो त्यो भने खेलमा देखिएन । उसले प्ले–अफमा स्थान बनाउन अन्तिम खेल नै कुर्नुपर्‍यो । पछिल्लो दुई खेलमा पराजित भए पनि झापालाई गोलअन्तरमा पछि पार्दै भाग्यशाली रह्यो । चार बराबर खेलेको ललितपुरले अपराजित यात्रा भने सातौँ खेलमा टुंग्यायो । टोलीले दुई मात्रै जित निकालेको छ । अस्ट्रेलियन प्रशिक्षक इआन आन्द्रे गिलानको प्रशिक्षणमा ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनी र पाँचौँ खेलमा चितवनलाई हराएको हो । रक्षक अनन्त तामाङ मार्की रहेको ललितपुर पछिल्लो दुई खेलमा इलाम र काठमाडौंसँग पराजित भयो । उसले पोखरा, धनगढी र झापासँग गोलरहित र वीरगन्ज युनाइटेडसँग २–२ गोलको बराबरीमा खेल्यो । 

पोखरा शीर्ष स्थानमा
प्रतियोगिताअघि कागजमा कमजोर मानिएको पोखरा थन्डर्स शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्ने भएको छ । दोस्रो संस्करणमा पोखराले पहिलोपटक प्ले–अफ खेल्ने भएको हो । आइकोनिक खेलाडी दिनेश राजवंशी छनोट गरेको पोखराले लिग चरणका आठमध्ये चार खेल जितेको छ ।

पोखरा सर्वाधिक खेल जित्ने टोली पनि बन्यो । तीन खेलमा अंक बाड्दा एक खेलमा पराजित भयो । आयुष घलान मार्की रहेको पोखराले अप्रत्याशित नतिजा निकाल्दै १५ अंक जोड्यो । उसका घानाका स्ट्राइकर मोसेस ग्याबा ट्युमले लिग चरणमा पाँच गोल गरेका छन् ।

वीरगन्जका विलियम ओपोकुले पनि पाँच गोल गरे । नवीन न्यौपाने प्रशिक्षणमा रहेको पोखराले प्रतियोगिताको पहिलो खेलमा चितवन र चौथो खेलमा इलामलाई समान १–० ले हरायो । छैटौँ खेलमा वीरगन्ज र सातौँ खेलमा बुटवल–लुम्बिनीलाई समान २–१ ले हराएको हो । ललितपुर झापा र धनगढीसँग भने अंक बाँडेको छ । एक मात्रै खेलमा काठमाडांैसँग भने २–१ ले पराजित भयो । 

औसत प्रदर्शनमा धनगढी दोस्रो 

घरेलु प्रतियोगिता खेलिसकेका विदेशी खेलाडी साथ पाएको धनगढीले प्रतियोगितामा औसत प्रदर्शन गर्‍यो । साबिक उपविजेता धनगढीले आठमध्ये तीन खेल मात्रै जित्यो । चार खेल बराबरी र एक खेलमा हार व्यहोरेको धनगढीले १३ अंक जोडेको छ ।

टोलीका नाइजेरियन स्ट्राइकर आफिज ओलावालले तीन गोल गरेका छन् । लयमा रहेका लेवनानी स्ट्राइकर अहमद हिजाजीले दुई गोल गरे । युगल किशोर राईको प्रशिक्षणमा धनगढीले पहिलो खेलमा वीरगन्जलाई २–१ ले हराउँदा दोस्रो खेलमा बुटवल लुम्बिनीलाई १–० र पाँचौँ खेलमा चितवनलाई १–० ले हराएको थियो ।

आशिष चौधरी मार्की तथा देवेन्द्र तामाङ कप्तान रहेको धनगढीले सातौँ खेलमा आएर झापासँग २–० ले हार्दा प्रतियोगितामा अपराजित यात्रा टुंग्यायो । ललितपुर, इलाम, काठमाडौं र पोखरासँग भने धनगढीले अंक बाँडेको थियो ।
 

सुझावित समाचार