बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परी जिल्ला सदरमुकामस्थित सरकारी वकिलको कार्यालयनजिकबाट हत्कडी खुस्काएर फरार भएका थुनुवा २४ घण्टा नपुग्दै पुनः पक्राउ परेका छन्।
सिराहाको लहान नगपालिका– २१ घर भएका करिब ३० वर्षीय छोटु सदाय शनिबार दिउँसो लुकिछिपी बसिरहेको अवस्थामा सिराहाको कल्याणपुर नगरपालिका– १२ थलहाबाट पुनः पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार लहानस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक हवल्दार देवकुमार यादवको कमान्डमा सादा पोसाकमा खटिएको टोलीले खोजतलासको क्रममा सदायलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्याएर थप अनुसन्धान थालेको छ।
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ दिनाजपुर सरन्चियाको भित्री सडक खण्डमा नाबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले सदायलाई ५ पुसमा लहान– १९ बेतहाबाट पक्राउ गरी लहान प्रहरीमा ल्याएको थियो।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार त्यसको भोलिपल्ट शुक्रबार प्रहरी सहायक निरीक्षक विनेश यादवको कमान्डमा ६ जना प्रहरीसहित तीनजना थुनुवालाई कानुनी प्रक्रियाको लागि सिराहा जिल्ला अदालत पठाइएको थियो।
तीमध्ये बाल यौन दुर्व्यवहारमा अनुसन्धानका लनगि पक्राउ गरिएका थुनुवा सदायको सरकारी वकिल कार्यालयमा मिसिल देखाउने क्रममा कार्यालयको गेटअगाडिबाट हत्कडी खुस्काई फरार भए पनि तत्काल व्यापक प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा सदाय पक्राउ परेको उनले बताए।