फुटबल खेलको आधारभूत तहदेखि नै विकास गर्ने उद्देश्यले सुरु भएको ‘पिएफसी इमर्जिङ कप’को दोस्रो संस्करण शनिबारबाट सुरु हुँदै छ।
चितवनको पटिहानी फुटबल क्लबले गत सालबाट सुरु गरेको यस प्रतियोगितामा यसपटक जिल्लाका १६ माध्यमिक विद्यालयहरू सहभागी छन्।
भरतपुर– १४ को सुन्दरबस्ती खेलमैदानमा शनिबार दुई खेल हुने क्लबले जनाएको छ। जसअनुसार राष्ट्रिय माध्यमिक विद्यालय सोसीसँग वाल्मीकि शिक्षा सदन र पारिजात इंलिस बोर्डिङ स्कुलसँग बालकुमारी इंग्लिस बोर्डिङ स्कुलले प्रतिस्पर्धा गर्नेछन्।
क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विद्यालयस्तरबाट नै फुटबल खेलको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो। उनले भने, ‘सानै उमेरबाट खेलप्रति मोह जगाउँदै यसलाई व्यावसायिक बनाउनका लागि नियमित रूपमा प्रतियोगिता आयोजना गरेका हौँ।’
क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगदसहित २० हजार रुपैयाँबराबरको खेलकुद सामग्री, उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
अनुशासित, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगदसहितको पुरस्कृत गरिनेछ। प्रतियोगिता १५ पुसमा सकिनेछ।
०७७ सालमा स्थापना भएको पटिहानी फुटबल क्लबले खेल प्रशिक्षक प्रशिक्षण तालिमसहित विद्यालयमा खेलकुदको विकास र नयाँ खेलाडी उत्पादनका लागि विभिन्न गतिविधि गर्दै आएको छ।