राष्ट्रिय फुटबल टोलीबाट एक मात्र खेल खेलेका गोलरक्षक विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका छन् । दोस्रो संस्करणको नेपाल सुपर लिगमा शुक्रबार श्रेष्ठले अचानक राष्ट्रिय टोलीबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । चितवनलाई अन्तिम खेलमा जित दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेका श्रेष्ठले म्यान अफ दी म्याच पुरस्कार थाप्दै पत्रकारसँग बोल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको बताए । ‘मैले आजको दिनबाट अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गरेको छु,’ झापा एफसीलाई २–० ले हराउँदा क्लिन सिट राखेका चितवनका गोलरक्षक श्रेष्ठले पत्रकारलाई स्तब्ध बनाउँदै आफ्नो निर्णय सुनाए ।
उनले यसै वर्ष भारतमा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामै सन्न्यास लिने तयारी गरेका थिए । तर, तत्काल उनलाई सन्न्यास नलिन परिवार र साथीहरूले सल्लाह दिए । ‘त्यसवेला सन्न्यास नलिन सुझाव आएको थियो, अब नयाँलाई अवसर दिनुपर्छजस्तो लाग्छ,’ उनले भने, ‘भारतको बेंग्लोरमा भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो ।’ त्यसयता विशाल टोलीबाहिर रहँदै आएका छन् ।
सन् २०११ मा प्रशिक्षक ग्राहम रोबर्टले विशाललाई पहिलोपटक राष्ट्रिय टोलीमा बोलाएका थिए । लामो पर्खाइपछि ०७८ को भदौमा उनले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाए । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दशरथ रंगशालामा भारतविरुद्ध किरणकुमार लिम्बूको स्थानमा विशाललाई डेब्यु गराएका थिए । राष्ट्रिय टोलीबाट उनले खेलेको त्यही एक मात्र खेल नै अन्तिम रह्यो । उनले सन्न्यास लिने वेला रंगशालामा छोरी बेदांक्षी र श्रीमती इलिसा सँगै थिए । इलिसाले आफ्ना श्रीमान्को राष्ट्रिय टोलीबाट खेल्ने योजना सफल बनाएकोमा प्रशिक्षक अब्दुल्लाहलाई आभार प्रकट गरिन् । विशालले नयाँ क्षमतावान् खेलाडीको आगमनसँगै आफू बाहिरिएको बताए । ‘नयाँ क्षमतावान् गोलरक्षक आइरहेका छन्, त्यहाँमाथि किरण पनि छ, अब आफैँ रहनेभन्दा पनि नयाँलाई अवसर दिनुपर्छ,’ विशालले भने । घरेलु फुटबलमा भने उनको निरन्तरता हुनेछ ।
घरेलु फुटबलमा सफल
विशाल घरेलु फुटबलमा सर्वाधिक सफल गोलरक्षक हुन् । उनले सहिद स्मारक ‘ए’ डिभिजन लिग मात्रै चारपटक जितेका छन् । मनाङ मस्र्याङ्दी र मच्छिन्द्र फुटबल क्लबका लागि उनले समान दुई लिग उपाधि जिते । ०५९ मा एन्फा एकेडेमीमा आबद्ध भएका विशालले त्यसपछि घरेलु फुटबलमा कहिल्यै फर्केर हेरेनन् । सात वर्ष एन्फा एकेडेमीमा रहेका विशाललाई मनाङले सुरुमै अनुबन्ध गरेको थियो । उनले मनाङमा एक दशक बिताउँदा दुईपटक लिग उपाधि जिते । मनाङलाई ०७५ मा दोस्रोपटक उपाधि जिताएपछि उनी अर्काे वर्ष मच्छिन्द्रमा पुगे । उनले मच्छिन्द्रलाई पनि दुईपटक उपाधि दिलाए ।
पोखरा र धनगढीको बराबरी
प्ले अफमा स्थान बनाइसकेका पोखरा थन्डर्स र धनगढी एफसीले लिग चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अन्तिम समयमा सम्हालिन नसक्दा धनगढी अंक बाँड्न बाध्य भएको हो । बराबरीले धनगढी शीर्ष स्थानमा उक्लन सकेन । धनगढीले सात खेलमा १३ अंक जोडेको छ । पोखरा समान खेलबाट १५ अंकका साथ शीर्ष स्थानमै रह्यो । धनगढीका लागि मिलन राईको तथा पोखराका लागि घानाका मोसेस ग्याबाले गोल गरेका थिए । मोसेस प्रतियोगितामा ६ गोल गर्दैै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।