सुलभ फार्मेसी सञ्चालन गर्न महानगरले ठाउँ नै भेटेन

शुक्रबार, ६ पुष, २०८०
डिजिटल संस्करण

पुस पहिलो सातादेखि सुलभ फार्मेसी (औषधि पसल) सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौं महानगरपालिकाले पूर्वघोषित समयमा सञ्चालन गर्न नसक्ने भएको छ । फार्मेसी सञ्चालनका लागि उपयुक्त ठाउँ नभेटेपछि योजनामा ढिलाइ भएको हो ।   

धेरै ठाउँमा फार्मेसी खोल्न भवन खोज्दा पनि उपयुक्त ठाउँ फेला नपरेको महानगरको स्वास्थ्य विभागले जनाएको छ । महानगरपालिकाले महाराजगन्ज, कालीमाटी, वीर अस्पतालआसपास र लैनचौर क्षेत्रमा सुलभ फार्मेसी खोल्ने घोषणा गरेको थियो, सोहीसार ठाउँ पनि खोजिरहेको जनाएको छ । यी ठाउँमा कोठा भेटिए छिट्टै फार्मेसी सञ्चालन गरिनेछ । 

स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उपयुक्त ठाउँमा घर तथा कोठा भेटिएको छैन । बबरमहलमा भने महानगरपालिका–११ को वडा कार्यालय रहेको भवनको एक तलामा सुलभ फार्मेसी राख्ने तयारी भएको छ । तर, अन्य चार ठाउँमा फार्मेसी राख्न ठाउँ नपाएपछि फार्मेसी सञ्चालनमा ढिलाइ हुने विभाग प्रमुख पौडेलले जानकारी दिए । ‘हामीले घोषणा गरेलगत्तैदेखि भवन खोजिरहेका छौँ, तर भेटेका छैनौँ,’ उनले भने, ‘त्यसैले घरभाडा दिन इच्छुक घरबेटीका लागि सूचना पनि जारी गरेका छौँ ।’ उनका अनुसार सुलभ फार्मेसी सञ्चालनका लागि एक तलादेखि डेढ तलासम्मको घर खोजिएको छ । वा अग्ला घरले कुनै एक तला महानगरलाई भाडा दिन पनि सक्नेछन् । उपयुक्त ठाउँ नभेटिँदासम्म सुलभ फार्मेसी कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सकिने अवस्था नभएको पौडेलले बताए ।

फार्मेसीका लागि आवश्यक औषधि सप्लायर्स कम्पनीहरूसँग समन्वय, सफ्टवेयर निर्माण गर्नेलगायत काम भइरहेको छ । सुलभ फार्मेसीमा बजारमा अहिले पाइने औषधिभन्दा निकै सस्तो हुने महानगरको दाबी छ । महानगरभित्र हाल सरकारी र निजी गरी २७ सय फार्मेसी छन् भने उपत्यकाभरि चार हजार सात सय फार्मेसी छन् । यी फार्मेसीले औषधिमा लुट मच्चाइरहेको सर्वसाधारणको दुखेसो छ ।

सरकारी अस्पतालका फार्मेसीमा समेत बिमा शुल्कमा मिलान हुने औषधि किन्न जाँदा नपाइने अवस्था छ । सस्ता औषधि मात्रै सरकारी अस्पतालका फार्मेसीमा पाइन्छ भने महँगा औषधि निजीमै किन्नुपर्ने बाध्यता छ । तर, सुलभ फार्मेसी सञ्चालनमा आए सबै प्रकारका औषधि सस्तो र बिमाअनुसार उपलब्ध गराइने महानगरको भनाइ छ । 

सुलभ फार्मेसीमा बिक्री गर्ने औषधिको बजार मूल्यसूची टाँसिनेछ । दुई हजार एक सय ६४ प्रकारका औषधिबारे महानगरले अध्ययन पनि गरिसकेको छ । कति प्रकारका सस्ता र महँगा औषधि चाहिन्छ भन्ने अध्ययनपछि फार्मेसी खोल्ने तयारी गरिएको हो । हाल सञ्चालनमा रहेका कुनै पनि सरकारी फार्मेसीमा यति धेरै प्रकारका औषधि पाइँदैनन् । निजी फार्मेसीले समेत सबै प्रकारका औषधि राख्दैनन् । सरकारी स्वास्थ्य संस्था तथा औषधि पसलहरूमा सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका ९८ प्रकारका औषधिसमेत पाइँदैन । 

महानगरले पहिलो चरणमा ६ करोड लागतमा फार्मेसी खोल्ने जनाएको थियो । पहिलो चरणमा खुल्ने पाँचवटा फार्मेसीका लागि महानगरले ६ करोड बजेट विनियोजन गरेको जनाएको छ । आवश्यकताअनुसार थप बजेट दिन सकिने महानगरले जनाएको थियो । 

सुझावित समाचार