छैटौँ फारवेस्ट पशुपति कप शुक्रबारबाट धनगढीमा सुरु हुँदै छ । धनगढी रंगशालामा हुने उद्घाटन खेलमा स्टार सिटी युवा क्लब धनगढी र पुनर्वास नगरपालिका खेलकुद विकास समितिले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक फारवेस्ट पशुपति युवा क्लबले जनाएको छ । आयोजकले बिहीबार प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा १५ टोली सहभागिता रहने क्लबले जनाएको छ ।
विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउने फारवेस्ट पशुपति युवा क्लबका महासचिव ललित मिश्रले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्टलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पुरस्कार पाउनेछन् ।
आयोजकका अनुसार सहभागीलाई दुई भागमा विभाजन गरेर दुई चरणमा खेलाइनेछ । समूह ‘ए’मा स्टार सिटी, पुनर्वास नगरपालिका खेलकुद विकास समिति, टेकबहादुर चोखाल फाउन्डेसन, घोडाघोडी युवा क्लब, बिएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर बाहिनी, भारतको सिएफसी क्लब कोलकाता र सुदूरपश्चिम–११ स्पोर्टस् क्लब रहेका छन् ।
समूह ‘बी’मा इलाइट युवा क्लब, अल स्टार्स एकेडेमी, ब्वाइज युनियन लम्की, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश, पुनर्वास युनाइटेड क्लब, ग्रिन सिटी क्लब र आयोजक फारवेस्ट पशुपति युवा क्लब रहेका महासचिव मिश्रले जानकारी दिए ।