भूकम्पपीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटना हुँदा एउटै पालिकाका पाँचको मृत्यु

शुक्रबार, ६ पुष, २०८०
डिजिटल संस्करण
भूकम्पपीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटना हुँदा एउटै पालिकाका पाँचको मृत्यु

जस्तापाता बोकेको दुर्घटनाग्रस्त ट्र्याक्टर

भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन जस्तापाता बोकेको रा.१त१४ नम्बरको ट्याक्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १० तिरिकोटमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । नौजना घाइते भएका छन् । राडीस्थित आठबिसकोट नगरपालिकाको कार्यालयबाट जस्तापाता बोकेर घर्तीगाउँ जाँदै गरेको आठबिसकोट नगरपालिकाको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा आठबिसकोट– १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, लोकबहादुरकी पत्नी ४२ वर्षीया चुकी शाही, सोही ठाउँका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट– ८ सार्कीवाडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर धर्मेन्द्र खड्काले बताए । दुर्घटनामा आठबिसकोटका खडकबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ, जगवीर सार्की, जयराम घर्ती, मने सार्की र मदन पुन घाइते भएका छन् । उनीहरूमध्ये केहीको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई रुकुम पश्चिमकै चौरजहारी अस्पताल रेफर गरिएको छ । ट्याक्टरचालक आठबिसकोट– ९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नगरपालिकाको उक्त ट्याक्टरमा २९ परिवार भूकम्पपीडितका लागि सात सय ४० वटा जस्तापाता लिएर गइरहेको थियो । ट्याक्टरमा अन्य खाद्यान्न सामग्रीसमेत थियो । 

मृतकका परिवारलाई नगरपालिकाले जनही आठ लाख क्षतिपूर्ति दिने 
आठबिसकोट नगरपालिकाले ट्याक्टर दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रतिमृतक आठ लाखका दरले क्षतिपूर्ति दिने भएको छ । दुर्घटनामा परेको नगरपालिकाको ट्याक्टर हो । 

मेयर रवि केसीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । तत्कालै ५० हजार किरिया खर्च दिने र बाँकी रकम केही समयभित्र दिने निर्णय भएको मेयर केसीले बताए । 

सुझावित समाचार