प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजनासहित अब मन्त्रीहरूलाई नयाँ टार्गेट दिइने बताएका छन्। टार्गेट पूरा नभए कडा रूपमा प्रस्तुत हुने उनको भनाइ छ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले आफूले धमाधम मन्त्रालयहरूको ब्रिफिङ लिइरहेको बताए। ‘पुस लागेदेखि सामूहिक रूपले मन्त्रालयहरूको बिफ्रिङ लिइरहेको छु। अहिलेसम्म ६ वटा मन्त्रालयको सकिएको छ,’ उनले अगाडि भने, ‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु। अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजनासहित अब टार्गेट दिइन्छ। त्योअनुसार भएन भने सोच्नुपर्छ।’
प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय, विकास निर्माणमा आफू सफल भएको बताए। ‘मिडियामा पनि पूरै नबुझी लेखिदिनुहुन्छ कि के गर्नुहुन्छ थाहा भएन। तर, सरकारले सामाजिक न्याय, मिटरब्याजपीडित, नागरिकता समस्या हल गर्यो। भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो? भूमाफियाविरुद्ध कदम चालिएको छ। अन्तर्राष्ट्रिय रूपमा पनि ऐतिहासिक रूपमा सफल छ।’
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको नामबाट कम्युनिस्ट हटाउन लागेको भन्ने चर्चा सही नभएको पनि बताए। ‘कम्युनिस्ट पार्टीको नाम कहिल्यै पनि परिवर्तन हुँदैन। खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र पनि हुन सक्छ। भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी समाजवादी भन्ने पनि हुन सक्छ। हामी छलफलमा छौँ,’ उनले भने, ‘संविधानले पनि समाजवाद भनेको छ भने समाजवादको भाव आउने नाम दिनु अहिलेको वस्तुसंगत हुन्छ भनेका छौँ।’
कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए। ‘यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढंगले यसको समाधान गर्नुपर्छ। नामको विषयमा आन्दोलनमा जाने साथीहरूलाई पनि भेटेर कुराकानी गरेको छु। यसलाई एक्स्ट्रिममा जान दिनुहुँदैन भन्ने छ। अतिवादतिर जान दिनुहुँदैन,’ उनले भने।