माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता

विधान मस्यौदा समिति गठन

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

सत्तारुढ दल माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ । बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ । विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । ‘अभियानको समीक्षा भयो,’ सापकोटाले भने, ‘पार्टी चलायमान भयो, गतिशील भयो । केही हदसम्म जनमुखी पनि भयो । यो अभियानलाई भिन्न रूपमा निरन्तरता दिनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ ।’

जनपरिचालनसहित देशैभरि पालिकास्तरमा यही १६ पुसमा रूपान्तरण अभियान समापन गरिने उनले जानकारी दिए । देशव्यापी रूपान्तरण अभियान वडास्तरमा सुरुवात भएको थियो ।

सुझावित समाचार