नेपाल प्रहरीले सुरु गर्न लागेको स्टाफ कलेज कार्यक्रमबारे तपाईंको दृष्टिकोण के छ ?
यो सकारात्मक छ । यसले प्रहरीलाई बलियो बनाउँछ । म स्वयं प्रहरी एकेडेमीमा हुँदा पनि यसलाई कार्यान्वयन गर्ने निकै प्रयास गरेको थिएँ । धेरै वर्षपहिलेदेखि नै प्रहरीमा स्टाफ कलेजको चर्चा भए भए पनि यो कार्यान्वयन हुन सकेको थिएन । अहिले आएर यो कार्यान्वयनको चरणमा जान लागेको छ । यसले प्रहरीमा योग्यता प्रणालीको विकास हुन्छ । क्षमता भएका अधिकृतहरू माथिल्लो तहमा पुग्छन् । यसले प्रहरीमा व्यावसायिकता बढ्छ । तर, यसको कार्यान्वयन पक्ष भने अलि चुनौतीपूर्ण नै देख्छु म ।
पढ्नेभन्दा फिल्डमा राम्रो काम गर्ने प्रहरी आवश्यक हुन्छ पनि भनिन्छ नि ?
यो भनेको व्यवस्थापकीय अध्ययन हो । कामसँगै प्रहरीलाई तालिम र अध्ययन पनि आवश्यक हुन्छ । स्टाफ कलेजले प्रहरीलाई थप व्यावसायिक र सक्षम बनाउँछ । तर, यसमा धेरैले मौका पाउनेगरी लागू गर्नुपर्छ भन्ने लाग्छ । साथै, विशेष काम गर्ने प्रहरी अधिकृतलाई पनि अन्याय नहुनेगरी कार्यक्रम बनाउनुपर्छ ।
यसले प्रहरीको बढुवामा हुने चलखेल कम होला त ?
आगामी दिनमा यसलाई कसरी कार्यान्वयन गरिन्छ, त्यो हेर्न बाँकी नै छ । वृत्ति विकाससँग जोडिएन भने यसको कुनै अर्थ हुँदैन । प्रहरीमा राम्रा अधिकृतमध्ये नै नेतृत्व तहमा पुग्ने भएकाले यसबाट बढुवा प्रणालीमा पनि सुधार हुन सक्छ ।