स्ट्राइकर अञ्जन विष्ट चम्किएपछि झापाले साबिक उपविजेता धनगढी एफसीलाई २–० ले हराउँदै दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को प्ले अफ सम्भावना जीवितै राखेको छ । दशरथ रंगशालामा अपराजित रहेको धनगढीमाथि झापाको रोमाञ्चक जितमा अञ्जन र समीराज थोकरले गोल गरेका थिए । झापालाई हराउँदा वा बराबरीमा रोक्दा पनि धनगढी शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्ने थियो । तर, अञ्जन र समीराजको एक–एक गोलमा धनगढीको शीर्ष चारमा पुग्ने योजना पूरा भएन । दोस्रो जितपछि झापाको प्ले अफको सम्भावना यथावत् छ । जितले झापा शीर्ष चारमा उक्लिएको छ ।
साबिक विजेता काठमाडौं रेजर्स पाँचौँ स्थानमा झर्यो । झापाले अन्तिम खेल चितवनसँग खेल्नेछ । झापाका मार्की तथा कप्तान अञ्जनले चितवनसँगको अन्तिम खेल जित्न खेल्ने बताएका छन् । ‘धनगढीविरुद्धको जितले उत्साहित छैनौँ । चितवनसँगको अन्तिम खेल फाइनलजस्तै हुनेछ,’ जारी लिगमा पहिलो गोल गरेका अञ्जनले भने, ‘धनगढीमाथिको जितले टोलीमा आत्मविश्वास बढाएको छ ।’ झापाले सातमध्ये दुई खेलमा जित, चार बराबरी र एक खेलमा हार बेहोरेको छ । प्रतियोगिताका सातमध्ये अञ्जनले पाँच खेल खेलेका छन् । दोस्रो खेलमा पोखरा थन्डर्सविरुद्ध ७०औँ मिनेटमा उनी अचेत भएका थिए । त्यसपछि उनले काठमाडौं र वीरगन्जविरुद्ध खेलेनन् ।
धनगढीको अपराजित यात्रा समाप्त
लिगमा धनगढी सातौँ खेलमा पराजित भयो । यद्यपि, धनगढी दोस्रो स्थानमा यथावत् छ । पहिलो हार बेहोरेको धनगढीले अघिल्ला ६ खेलमा तीन जित र तीन बराबरी खेलेको थियो । अन्तिम खेलमा धनगढीले प्ले अफमा पुगेको पोखरासँग खेल्नेछ । धनगढीका प्रशिक्षक युगलकिशोर राईले आफ्ना खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको र अन्तिम खेलबाट प्ले अफमा स्थान बनाउने बताए । ‘हामीले खेल्नै सकेनौँ । ठीकविपरीत झापाले राम्रो खेल्यो ।
हामी ११ खेलाडी थियौँ । झापाले सातजना हुँदा पनि सहजै हामीलाई हराउने खेल खेल्यो,’ राईले भने, ‘अन्तिम खेल सम्हालिएर खेल्छौँ ।’ खेलमा इन्जुरी समयसहित समग्रमा अन्तिम २० मिनेट झापा १० खेलाडीमा सीमित भएको थियो । तर, धनगढीले फाइदा उठाउन सकेन । खेलको ७९औँ मिनेटमा अमेरिकन खेलाडी धीरज थातलीले सीधै रातो कार्ड पाउँदै मैदान छाडे । मैदानको मध्यभागमा उनले धनगढीका साइमन लिम्बूमाथि खतरनाक ट्याकल गरेपछि भारतीय रेफ्री राम दासनले सीधै रातो कार्ड देखाए ।
अञ्जनको अग्रता
खेलको ५३औँ मिनेटमा अञ्जनले उत्कृष्ट हेडिङ गोल गरेका थिए । छिरिङ लामाको पासमा अञ्जनले गोलरक्षक टाहालाई छेक्न अवसर नदिई गोल गरे । खेलको ७७औँ मिनेटमा वैकल्पिक खेलाडी समीराजले झापालाई २–० को अग्रता दिलाए । झापाका वैकल्पिक खेलाडी प्रदीप लामाले निकालेको पासमा सान्चेजले टाहालाई बिट गर्दै बल प्रहार गरे । गोलपोस्टमा अनमार्कमा रहेका समीराजले गोललाइनतर्फ सहजै गोल गरे । जितपछि झापाका स्पेनिस प्रशिक्षक ओरिओल मोहेदानो सेगुराले खेलाडीको प्रदर्शनमा सन्तुष्ट हुने स्थान रहेको र अन्तिम खेल जित्न खेल्ने प्रतिक्रया दिए ।
