राष्ट्रपति चुनाव लड्न ट्रम्प अयोग्य ठहर, सर्वोच्चमा अपिल गर्ने ट्रम्पको प्रतिक्रिया

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

अमेरिकास्थित कोलोराडोको सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न अयोग्य ठहर गरेको छ। 

बिबिसीका अनुसार अमेरिकी संविधानमा रहेको विद्रोहसम्बन्धी धारालाई उद्धृत गर्दै कोलोराडो अदालतले ट्रम्पलाई २०२४ को राष्ट्रपति निर्वाचनको मतपत्रमा अटाउन नसक्ने ठहर गरेको हो।

सातसदस्यीय इजलासमा ४–३ को बहुमतबाट यस्तो फैसला आएको हो। समाचार संस्थाहरूका अनुसार अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी कुनै पनि नागरिकलाई राष्ट्रपति उम्मेदवार बन्न अयोग्य ठहर गरिएको यो पहिलोपटक हो। 

धारा ३ ले संविधानविरुद्ध विद्रोह वा विद्रोहमा संलग्न व्यक्तिहरूलाई अयोग्य ठहराउँछ। यसअघि अमेरिकाका थुप्रै राज्यमा ट्रम्पमाथि चुनाव लड्न रोक लगाउन माग गर्दै मुद्दा परेका थिए। र, ती मुद्दामा ट्रम्प विजयी हुँदै आएका थिए। 

कोलोराडोमा ‘जनवरी ६ मा भएको दंगा’ अघिका कारबाहीका कारण ट्रम्पले राष्ट्रपतिको उम्मेदवार हुन नसक्ने अदालतले फैसला गरेको हो। अदालतको फैसलामा ट्रम्प राज्यको रिपब्लिकन प्राइमरी चुनावमा उम्मेदवारको रूपमा अयोग्य रहेको उल्लेख गरिएको छ।

अदालतको फैसलापछि ट्रम्पले आफूले अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्ने प्रतिक्रिया दिएका छन्। पूर्वराष्ट्रपति ट्रम्प आगामी निर्वाचनमा पुनः राष्ट्रपतिका उम्मेदवार बन्ने दौडमा छन्। 

सुझावित समाचार