राष्ट्रसंघीय शान्ति मिसनमा यति लामो सहभागिताबाट देशले चाहिँ के पायो ?
विश्व शान्ति र सुरक्षामा विभिन्न राष्ट्रले आआफ्नो क्षमताअनुसार योगदान दिइरहेका हुन्छन् । हाम्रो आर्थिक, कूटनीतिकलगायत पक्ष कमजोर भए पनि हामीले विश्व शान्तिमा योगदान दिने अवसर पाएका छौँ । शान्ति मिसनमा खेलेको भूमिकाका कारण विश्वले नेपाललाई चिनेको छ । मध्यपूर्व, अफ्रिका जस्ता भूभागको द्वन्द्वमा हाम्रो जस्तो ‘न्युट्रल’ मुलुकको योगदान महत्वपूर्ण मानिन्छ । शान्ति मिसनमा सहभागी भएर नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरीले युद्ध र अधिकांश अवस्थामा द्वन्द्व समाधानको अनुभव लिने र आफूलाई तिखार्ने अवसर पाएका छन् । रेमिटेन्समै पनि महत्वपूर्ण योगदान पुगिरहेको छ ।
राष्ट्र संघमा यति महत्वपूर्ण योगदान दिए पनि नीति निर्माण तहमा नेपालको प्रतिनिधित्व किन हुन नसकेको होला ?
नेतृत्व तहका लागि ग्लोबल प्रतिस्पर्धा हुन्छ । अन्य देशका योग्यतम मानिससित प्रतिपस्र्धा गर्नुपर्ने हुन्छ । तर, हामीकहाँ प्रतिस्पर्धाको वातावरण छैन । यहाँ जेष्ठताका आधारमा मानिस छनोट गरिन्छ । यसरी छनोट गरिएका हाम्रा प्रतिनिधिले ग्लोबल प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न नसकेपछि हामी पछि पर्नु स्वाभाविक हो । अर्कातिर हाम्रो देशको ‘लबिङ’ गर्ने क्षमता पनि कमजोर छ । यसले पनि प्रभाव पारिरहेको हुन्छ ।
राष्ट्रसंघीय मिसनमा एक वर्षमा १० हजार सेना पठाउन कति सम्भव छ ?
यो असम्भव नभए पनि सजिलो भने छैन । मान्छे पठाउन सकिन्छ । तर, तिनका लागि आवश्यक ‘इक्विपमेन्ट’ व्यवस्थापन गर्न सजिलो छैन । संस्थाहरू आफैँ क्रियाशील हुनुपर्ने अवस्था छ । सरकारको क्रियाशीलता हुने हो भने यो संख्या पु¥याउन नसकिने होइन ।