प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक कानुन निर्माण गरेर सरकारको गति बढाउने तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले आवश्यक कानुन निर्माण गर्दै अगाडि बढ्ने बताएका हुन् ।
संक्रमणकालीन न्याय, निजामती, भूमि, वनलगायत ऐन नबन्दा समस्या भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आवश्यक ऐन निर्माण गरेर अगाडि बढ्ने बताएको नेता देवेन्द्र पौडेलले जानकारी दिए । प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘शान्ति प्रक्रिया टुंग्याउनुपर्नेछ । निजामती, भूमि, वनलगायत ऐन नबन्दा समस्या भएको छ । छिट्टै ऐन बनाएर अगाडि बढ्नुपर्छ । अब सरकार गियर चेन्ज गरेर अगाडि बढ्छ ।’
प्रचण्डले सरकारले गरेको राम्रो कामलाई बदनाम गराउने षड्यन्त्र भइरहेकाले सचेत हुनुपर्नेमा जोड दिएका थिए । सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गर्न थालेपछि केही मानिस आतंकित भएको उनको दाबी छ । एनसेल प्रकरणमा भ्रम फैलाउने काम एउटा उदाहरण भएको भन्दै उनले सरकारका राम्रो कामको प्रचारप्रसार हुन नसकेको गुनासो गरेका थिए ।
बैठकमा प्रचण्डको ब्रिफिङपछि प्रदेश इन्चार्जहरूले रूपान्तरण अभियानबारे समीक्षात्मक रिपोर्टिङ गरेको पौडेलले बताए । ‘इन्चार्जहरूले अभियान समग्रमा उत्साहजनक रहेको बताएका छन् । अभियानले नेता तथा कार्यकर्तामा उत्साह प्रदान गरेको र पार्टीमा रक्तसञ्चार भएको सबैको रिपोर्टिङमा आएको छ,’ नेता पौडेलले भने । पदाधिकारी बैठक बुधबार पुनः बस्नेछ । माओवादीको अभियान यही १६ पुसमा समापन हुँदै छ । अभियान सकिएपछि विस्तृत छलफल हुने पौडेलले बताए ।