प्युठानमा सबस्टेसन सञ्चालनमा ढिलाइ भएको छ। विद्युतकाे अनियमितता कम गर्ने उद्देश्यले प्युठान नगरपालिका– ८ दम्तीमा सबस्टेसन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन।
सबस्टेसन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे। सबस्टेसनसम्म ३३ केभीको प्रसारणलाइन विस्तार गर्न लागिएको वर्षौँ बित्दा पनि सबस्टेसन सञ्चालनमा ल्याइएको छैन।
०७३ देखि निर्माण थालिएको सबस्टेसन ०७४ असार मसान्तसम्म सम्पन्न गरी सञ्चालन गरिनुपर्ने भए पनि ६ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन। दम्तीमा ११ रोपनी जग्गामा एक ‘कन्ट्रोल भवन’ र दुईवटा ‘स्टाफ क्वार्टर’ निर्माण गरिएको छ। सबस्टेसनसम्म ३३ केभीको प्रसारणलाइन विस्तार गर्न तार टाँग्ने काम अधुरै छ।
सबस्टेसनसम्म विद्युतीय लाइन विस्तार नहुँदा सबस्टेसन सञ्चालनमा ढिलाइ भएको नेपालगन्जस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख ई. हरिप्रसाद पाण्डेले बताए। उनले भने, ‘धेरै ठाउँमा तार टाँगिएको छ, पुलमा जमिनमुनिबाट तार बिछ्याउने ठाउँमा ढुंगा भेटिएकाले समय लागेको छ।’
रु. सात करोड ५० लाखको लागतमा सबस्टेसन निर्माणको काम काठमाडौंको आरके इन्टरनेसनलले र रु. पाँच करोड ३३ लाखको लागतमा लाइन विस्तारको ठेक्का त्रिपुरेश्वर–जयदुर्गा जेभीले जिम्मा लिएका थिए।
प्रमुख पाण्डेले सबस्टेसन शीघ्र सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिए। सबस्टेसन सञ्चालन र सडकमा टाँगिएको अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिँदै आएका छन्। सबस्टेसननजिकैका सडकमा होचा पोलमा भएका तार व्यवस्थित गर्न अतिआवश्यक भएको स्थानीयवासी शशिधर पण्डितले बताए।
विद्युत् प्रसारणलाइनका लागि नदीकिनारमा बाँध नहुँदा बगाउने जोखिम र सडकमा होचा तारले अग्ला गाडीमा करेन्टको जोमिख रहेको भन्दै लाइन सुरक्षित गर्नसमेत आग्रह गर्दै आएका उनको भनाइ थियो।