ब्रिटिस काउन्सिल आइइएलटिएस प्राइज २०२३ विजेताको घोषणा

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

ब्रिटिस काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आइइएलटिएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्तालाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आइइएलटिएसका परीक्षार्थीलाई विश्वविद्यालयको पाँच हजार डलर (आठ लाख ४० हजार नेरु)सम्मको ट्युसन शुल्कमा टेवा दिने बताइएको छ ।

यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आइइएलटिएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको काउन्सिलको भनाइ छ । 

प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत यो वर्षका लागि नेपालबाट तीनजना चयन भएका छन् । जसमा प्रथम, रिजु अधिकारी, द्वितीय उज्ज्वल भेटुवाल र तृतीय रिषिका साह रहेका छन् । उनीहरूले क्रमशः आठ लाख ४० हजार, तीन लाख ३६ हजार एक लाख ६८ हजार रुपैयाँ पाउनेछन् । 

यसबाहेक पनि ब्रिटिस काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आइइएलटिएसको परीक्षा दिएका परीक्षार्थीमध्ये केही भाग्यशाली विजेताले आइइएलटिएस उपहार पाएको पनि काउन्सिलले जनाएको छ । त्यस्तै, हरेक हप्ता एकजना भाग्यशाली विजेताले जिबेएल चार्ज ५ जितिरहेका छन् भने मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका पनि बताइएको छ । त्यसैगरी, दुईजना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो ।

सुझावित समाचार