वर्षयताकै उच्च कारोबार : लगानीकर्ता भन्छन्– लगानी गर्ने सही समय आयो

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

साताको दोस्रो दिन सोमबार नेप्से कारोबार एक वर्षयताकै उच्च भएको छ । धितोपत्र र ऋणपत्र गरी सोमबार तीन सय पाँच कम्पनीको सेयर खरिद–बिक्री भएको छ । सो दिन दुई करोड १४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि २६ पुस ०७९ मा सात अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । उक्त समयमा नेप्से परिसूचक दुई हजार एक सय ९० दशमलव ४२ विन्दुमा थियो ।

सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो ठूलो कारोबार गर्ने कम्पनीमा सोनापुर मिनरल्स एन्ड आयलको २० करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । सोल्टी होटेल, शिवम् सिमेन्ट, घोराही सिमेन्टको १४ करोड ३३ लाख रुपैयाँदेखि १८ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । 

पछिल्लो समय सेयर बजार उच्च अंकले बढेसँगै लगानीकर्ता बजारप्रति आकर्षित  हुन थालेका छन् । मौद्रिक नीति समीक्षासँगै केही नीतिगत सुधार भएसँगै बजारले एक हजार आठ सयको मनोवैज्ञानिक विन्दुबाट उक्लिएको हो । हाल नेप्से सूचक दुई हजार ६० दशमलव ४९ विन्दुमा आइपुगेको छ ।

मौद्रिक नीतिको समीक्षापछि बजार दुई सय ७ दशमलव ७ अंकले बढेको छ । बजार निकै लामो समयसम्म घटेको हुँदा अब केही समय ‘पिकअप’ लिन सक्ने लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘यतिवेला लगानीकर्ताको गुमेको विश्वास बिस्तारै फर्किंदै छ, खरिद–बिक्री राम्रो भइरहेको छ, कारोबार रकमले पनि लगानीकर्ता आकर्षित छन्, बजारमा प्रवेश गर्ने सही समय नै यही हो अहिलेको बजारले देखाउँछ ।’ साता सोमबार कारोबार दिन नेप्से परिसूचक ३८ दशमलव १४ अंकले बढेको छ ।

 नौ कम्पनीको सेयर मूल्यमा सर्किट
सोमबार नौ कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । बोटलर नेपाल (बालाजु) सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूलयमा सर्किट लागेको हो । 

बढेको बजारमा हिमालयन पावर पार्टनर, डोल्टी पावर कम्पनी, अपर स्यांगे हाइड्रोपावर, मोदी इनर्जी लिमिटेड, माइखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य चार दशमलव ३८ प्रतिशतदेखि ७ दशमलव ८६ प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचकमध्ये १२ समूहका सूचक बढेका छन् । अघिल्लो दिन आइतबार जलविद्युत् समूहको सूचक पाँच दशमलव ५५ प्रतिशतले बढेको भए पनि यस दिन घटेको छ । यसको अर्थ लगानीकर्ताले जलविद्युत् कम्पनीको सेयरमा नाफा बुक गरेका छन् । लगानीकर्ता भानु दाहालले जलविद्युत् कम्पनीमा लगानीकर्ता अघिल्लो दिनको नाफा बुक गरेर अन्य कम्पनीमा लगानी गरेको बताए । 

See More On

सुझावित समाचार