प्रेरक प्रसंग : साधु र महिला

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

एक वृद्ध साधुको आश्रममा एक युवा उमेरकी महिला पुगिन् र आफ्नो दुःखेसो सुनाउन थालिन् । उनले भनिन्– बाबा, मेरा सैनिक पति पहिले मलाई खुब माया गर्नुहुन्थ्यो । तर, युद्धबाट फर्किएपछि भने उहाँले पहिलेको प्रेम पूरै भुल्नुभयो । उहाँ ठीकसँग कुरासम्म गर्नुहुन्न । साधुले भने– यो सब युद्धको प्रभाव हो । महिलाले हात जोड्दै भनिन्– हजुरसँग भएको जडीबुटीले मानिसमा पुनः प्रेमभाव जगाउन सक्छ भन्ने सुनेकी छु । मलाई पनि त्यही जडीबुटी दिनुपर्यो हजुरले । महिलाको आग्रह सुनिसकेपछि साधुले केही सोचे र भने– म तिमीलाई जडीबुटी दिन त सक्छु । तर, त्यसका लागि मलाई एउटा सामान चाहिन्छ, जुन मसँग छैन । 

महिलाले प्रश्न गरिन्– त्यस्तो कुन सामान हो ? मलाई भन्नुहोस् न, म ल्याइदिन्छु । साधुले भने– मलाई बाघको जुँगाको एउटा रौँ चाहियो । महिला तत्काल बाघको खोजीमा निस्किइन् । जंगलको भित्रभित्र पुगेर खोज्दा उनले नदीको किनारमा एउटा बाघ देखिन् । उनलाई देख्नासाथ बाघ गर्जियो । बाघको गर्जन सुनेपछि तीव्र गतिमा भागेर उनले ज्यान जोगाइन् । थप केही दिनसम्म यही सिलसिला चलिरह्यो । महिला हिम्मत गरेर बाघको नजिक पुग्थिन्, बाघ गर्जिन्थ्यो, उनी डराइ–डराइ फर्किन्थिन् । लगभग महिना दिन बित्दानबित्दै बाघलाई महिलाको उपस्थितिको बानी पर्यो । अब त महिला बाघका लागि मासुसमेत लिएर जान्थिन् । बाघ बडो स्वादले त्यो मासु खान्थ्यो । यसो गर्दागर्दै बाघ र महिलाको मित्रता बढ्दै गयो । उनी बाघलाई थपथपाउन सक्नेसम्म भइन् । हुँदाहुँदा उनी एक दिन बाघको जुँगाबाट एउटा रौँ उखेल्न पनि सफल भइन् । 

रौँ हात लागेपछि उनी दौडिँदै साधुको आश्रममा पुगिन् र साधुलाई रौँ हस्तान्तरण गरिन् । रौँ हात पर्नासाथ साधुले त्यसलाई नजिकै बलिरहेको धुनीको आगोमा हालिदिए । महिलाले आत्तिँदै प्रश्न गरिन्– मैले यतिका दिन लगाएर ज्यान जोखिममा राखेर ल्याएको रौँ तपाईंले आगोमा हालिदिनुभयो । अब मेरो जडीबुटी कसरी तयार हुन्छ ? 

साधुले भने– जसले हिंस्रक जंगली बाघलाई वशमा लिन सक्छे, उसलाई आफ्नो प्रेमले जित्न सक्छे, उसलाई आफ्ना पतिको मन जित्न र प्रेम पाउन कुन जडीबुटी चाहिन्छ ? जाऊ, जसरी बाघलाई आफ्नो मित्र बनायौ, त्यसैगरी पतिमा पनि प्रेमभाव जगाऊ । वास्तविक जडीबुटी पाएको महसुस गरी महिला खुसी हुँदै घर फर्किइन् ।

सुझावित समाचार