विप्लवको पक्राउ पुर्जीपछि समाजवादी मोर्चाले भन्यो– तीनबुँदे सम्झौता कार्यान्वयन होस्

सोमबार, २ पुष, २०८०
डिजिटल संस्करण
विप्लवको पक्राउ पुर्जीपछि समाजवादी मोर्चाले भन्यो– तीनबुँदे सम्झौता कार्यान्वयन होस्

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव र प्रवक्तासहितका नेताविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीकाे आदेशप्रति समाजवादी मोर्चा नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।

मोर्चाका संयोजक एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सोमबार वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीनबुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न भनेका छन्।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यसप्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

०७६ असोज ९ गते महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की र माइला लामामाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो।

साे मुद्दामा जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि समाजवादी मोर्चाले प्रतिक्रिया जनाएकाे हाे। माेर्चामा सत्तारुढ माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सामेल छन्।

०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी ओली र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण तरिकाबाट गर्ने र नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको  प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा सहमति भएको थियो।

नेकपाका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि समाजवादी मोर्चाले सरकारलाई तीनबुँदे सहमति स्मरण गराएको हो।

सुझावित समाचार