नेपालका नम्बर १ एमेच्योर गल्फर सुवास तामाङले भारतमा आयोजना भएको १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि हात पारेका छन् । रोयल कोलकता गल्फ क्लबमा म्याच प्ले फम्र्याटमा ३६ होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९–७ ले पराजित गर्दै उपािध हात पारेका हुन् । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो । १८९२ मा सुरुवात भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । सुवासको यो ऐतिहासिक सफलता हो ।
चौथो वरीयता प्राप्त सुवास र तेस्रो वरीयताका रोहितबीचको पहिलो ९ होलको खेल रोमाञ्चक बन्यो । पहिलो होल सुवासले जितेका थिए । दोस्रो र आठौँ होल जित्दै रोहितले ९ होलको समाप्तिमा एक स्ट्रोकको अग्रता लिए । यसपछि १०औँ होल सुवासको नाममा रह्यो । उनले १३औँ होलमा अग्रता लिए पनि १४औँ होलमा रोहितले खेल बराबरीमा पुर्याए । २०१९ मा नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा १ होल मात्र गुमाए । २०औँ होलमा हार बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४ पुर्याए ।
२४औँदेखि लगातार ४ होल आफ्नो पक्षमा पारेका सुवास २७ होलको समाप्तिसम्म ८ स्ट्रोकको अग्रता बनाउन सफल भए । २८औँ होल बराबरी भएपछि उनले २९औँ होल आफ्नो पक्षमा पार्दै सानदार जित निकाले । सुरुको दुई दिन स्ट्रोक प्ले फम्र्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनोट भएका हुन् । स्ट्रोक–प्लेमा सुवास १ ओभर ७३ र २ अन्डर ७० खेल्दै चौथो भएका थिए ।
म्याच–प्लेको सुरुवाती तीन राउन्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमिफाइनलमा दक्षिण अफ्रिकाका अल्टिन भ्यान डर मर्वेमाथि जित हासिल गरेका थिए । नेपाल ओलम्पिक कमिटीबाट २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरुण सरदेसाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् । नेपाल गल्फ संघले २१ डिसेम्बरमा अर्का एमेच्योर खेलाडी राहुल विकलाई पनि प्रशिक्षणका लागि तरुण सरदेसाई एकेडेमीमा पठाउने जनाएको छ ।