नेपाल प्रहरीका असइ, सशस्त्रका हवल्दार र इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

विशेष अदालतले नेपाल प्रहरी, सशस्त्र प्रहरी र एकजना इन्जिनियरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । शुक्रबार विशेषका न्यायाधीशत्रय खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । 

नेपाल प्रहरीका असइ विनोद विष्टलाई घुससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै विशेषले ६ महिना कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रूपमा कार्यरत रहँदा विष्टले दुई लाख रुपैयाँ घुस लिएको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २० साउनमा मुद्दा दायर गरेको थियो । 

असइ विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी अख्तियारमा परेको थियो । जसपछि अख्तियारले घुससहित उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । घटनाको ६ महिना नबित्दै फैसला आएको हो । 

यसैगरी, सशस्त्र प्रहरी बलका सहायक हवल्दार पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । न्यायाधीशत्रय थारू, राई र श्रेष्ठको इजलासबाट शुक्रबार नै यस्तो फैसला भएको हो । 

रुपन्देहीस्थित विष्णुपुरामा कार्यरत रहेका बखत उनलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ फागुन ०७९ मा उनलाई पक्राउ गरेको थियो भने यसै वर्ष ३ वैशाखमा मुद्दा चलाइएको हो । 

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार सेनलाई घुस रकमबराबर अर्थात् २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । यसैगरी, एक महिना कैद सजायसमेत सुनाइएको छ । सडक निर्माणका क्रममा माटो ओसारपसार गर्दा सहजीकरण गरिदिने बहानामा उनले सेवाग्राहीसँग घुस मागेको अभियोग लगाइएको थियो । जसमाथि विशेषले आठ महिनाभित्रै फैसला दिएको हो । 

शुक्रबार नै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय वसुन्धराका सबइन्जिनियर दीपेन्द्रकुमार केसीमाथि पनि भ्रष्टाचार अभियोग कायम भएको छ । विशेषका अनुसार केसीलाई दुई लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ । दुई वर्षअघि दायर मुद्दामा कसुर कायम हुने फैसला भएको हो । 

अख्तियारको टोलीले केसीलाई १९ असोज ०७८ मा दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । जसपछि सोही वर्ष ६ मंसिरमा उनीमाथि मुद्दा चलाइएको थियो । 

कल्भर्ट निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी भुक्तानी दिने कार्यमा सहजीकरण गरिदिने प्रलोभन देखाउँदै इन्जिनियर केसीले घुस मागेको अभियोग लगाइएको थियो । उनी सेवाग्राहीसँग उक्त घुस लिँदै गर्दा पक्राउ परेका थिए ।

सुझावित समाचार