बाराको सिम्रौनगढ नगरपालिकामा शिक्षक–कर्मचारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाको निष्पक्ष जाँचको माग गर्दै पीडित परिवारले प्रदर्शन गरेका छन् । दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै मृतकका परिवारजन र स्थानीयले बिहीबार कलैयामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामासमेत मागेका छन् । प्रदर्शनपछि उनीहरूले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार आन्दोलनरत शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउने क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ– १ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो ।
बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार मृतकका परिवारजनले मृतकलाई सहिद घोषणा, मृतकका परिवारबाट एकजनालाई रोजगारी, मृतकलाई उचित क्षतिपूर्ति र घटनामा संलग्न प्रहरीलाई कारबाही माग्दै ज्ञापनपत्र बुझाएका हुन् । मृतकका परिवारजनले अझै पनि शव बुझ्न मानेका छैनन् । प्रहरीले आवश्यकता नै नभई गोली चलाएर हत्या गरेको उनीहरूको आरोप छ । एसपी काफ्लेले भने झडप नियन्त्रण गर्ने क्रममा हवाई फायर गर्दा टाउकोमा गोली लागेको जिकिर गरे ।
प्रहरीको गोली लागेर मृत्यु भएका लक्ष्मी मुखिया बिनको शव पर्साको नारायणी अस्पतालमा छ । परिवारजन र स्थानीय आफ्ना माग पूरा नभएसम्म शव नउठाउने अडानमा रहेकाले बिहीबार पनि शव अस्पतालमै रहेको हो । बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बिहीबार शव बुझ्न आफन्त नआएको बताए ।
यता, बुधबारको घटनापछि स्थिति असामान्य बन्दा बिहीबार नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको सेवाग्राहीले जनाएका छन् । बिहीबार कार्यालय खुले पनि सुनसान रहेको स्थानीय सिकेन्द्र प्रसादले बताए । ‘बिहीबार नगरपालिकाको कार्यालय खुल्यो, तर न कर्मचारी आए, न सेवाग्राही । दिनभर सुनसान थियो,’ उनले भने । लामो समयदेखि प्रशासकीय अधिकृत नहुँदा तलबसहितका सुविधा नपाएको भन्दै यहाँका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी आन्दोलित छन् । आन्दोलनका कारण केही महिनादेखि नगरपालिकाबाट नियमित सेवा प्रवाह हुन सकेको छैन ।