विशेष अदालतले सम्पत्ति शुद्धीकरणका दुईजनालाई दोषी करार गर्दै सजाय सुनाएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले वृजकिशोर गिरी र समसुल होदालाई सजाय सुनाएको हो ।
विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार दुवैजनालाई जनही १२–१२ वर्ष कैद र जरिवाना सजाय सुनाइएको छ । उनीहरू दुवैलाई २७ लाख २५ हजार जरिवाना हुने भएको छ ।
१९ मंसिरमै कसुर ठहर भए पनि बिहीबार मात्र सजाय निर्धारण भएको हो । कसुर ठहर हुने गिरी र होदा संगठित अपराधअन्तर्गतको कर्तव्य ज्यान मुद्दाका अभियुक्तसमेत हुन् ।
४८ वर्षीय होदाले आपराधिक समूहसँग सम्बन्ध रहेका पाकिस्तानी नागरिक सफीसँगको मिलेमतोमा आपराधिक गतिविधिबाट आय गरेको ठहरसहित मुद्दा दायर भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ८ कात्तिक ०७५ मा मुद्दा चलाएकोमा पाँच वर्षपछि फैसला आएको हो ।