सत्तागठबन्धनले दियो सरकारलाई ५३ बुँदे सुझाव

बिहिबार, २८ मंसिर, २०८०
डिजिटल संस्करण

कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिन आग्रह 

कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिन सत्तागठबन्धनले सरकारलाई ५३ बुँदे सुझाव दिएको छ । गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव दिएका हुन् । 

शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चारलगायत क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन गठबन्धनले सुझाव दिएको छ । यस्तै, मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन पनि ५३ बुँदे प्रस्तावमा उल्लेख छ । 

प्रधानमन्त्रीसहितको सत्तागठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझाव तयार गर्न यादवलाई जिम्मेवारी दिएको थियो । सोहीअनुसार यादवले संघीयता कार्यान्वयन, सामाजिक न्यायको हक, शिक्षा, स्वास्थ्यलगायत मुद्दामा सुझाव दिएका हुन् । यादवको प्रस्तावमा प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी समायोजन गर्ने, संघीय निजामती ऐन अध्यादेशद्वारा जारी गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्ने, प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने, संविधानको अनुसूची ६ र ७ को अधिकार सूचीअनुसार प्रदेशलाई क्षेत्राधिकार प्रदान गर्न अध्यादेश जारी गर्ने र संघीय सरकारमा मन्त्रालयको संख्या घटाउने र प्रदेश सरकारका विषय प्रदेश सरकारलाई दिने र अनावश्यक खर्च कटौती गर्नेलगायत छन् । 

त्यस्तै, स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्ने, संविधानबमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालयमातहतका निकाय तुरुन्त हस्तान्तरण गर्न यादवको प्रस्ताव छ । त्यसैगरी पछिल्लो समय सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका जसपा अध्यक्ष यादवले संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधानविज्ञ सम्मिलित आयोग गठन गरेर राय–सुझाव लिन र सोहीअनुसार संविधान संशोधनका लागि आवश्यक प्रयास गर्नसमेत आग्रह गरेका छन् ।

यादवकोे सुझावमा पिछडा वर्गलाई सूचीकृत गरी समावेशी र सामाजिक न्यायको प्रत्याभूति गराउन आवश्यक कानुन निर्माण गर्नसमेत आग्रह गरिएको छ । जनसंख्याका आधारमा संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रको पुनर्निधारण गर्नुपर्ने माग पनि सुझावमा उल्लेख छ । ‘राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन र तथ्यांकअनुसार आन्तरिक बसाइँसराइलगायत विभिन्न कारणले गर्दा तराई मधेशमा जनसंख्यामा ठूलो वृद्धि भएको र अन्य क्षेत्रमा कम भएको देखिएको हुँदा जनसंख्याका आधारमा प्रतिनिधित्व लोकतान्त्रिक प्रणालीको मूल सिद्धान्त र भावनाअनुसार संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रको पुनर्निधारण गर्नुपर्ने,’ यादवको सुझावपत्रमा भनिएको छ । 

त्यस्तै, सरकारले सातवटै प्रदेशमा प्रादेशिक सीप तालिम केन्द्र स्थापना र सञ्चालन गरी स्वदेशी वा वैदेशिक रोजगारमा जानेलाई आवश्यक सीप–तालिम दिन सुझाव दिइएको छ । गरिबीको रेखामुनि रहेका दलित तथा विपन्न वर्गलाई सरकारले निःशुल्क तालिम उपलब्ध गराउनुपर्ने यादवको सुझावपत्रमा उल्लेख छ । 

प्रत्येक प्रदेशमा कम्तीमा एउटा अति विशिष्ट अस्पताल र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नुपर्ने यादवको सुझावपत्रमा उल्लेख छ । उद्योग, कलकारखाना सञ्चालन गर्न लागनीकर्तालाई प्रोत्साहन गर्ने, निवेदन दिएको १५ दिनभित्र आवश्यक पर्ने सबै प्रक्रिया पूरा गरी सरकारले अनुमति प्रदान गर्ने र उद्योग, कलकारखाना सञ्चालन गर्न पनि सुझाव दिइएको छ । त्यस्तै, कोभिड–१९ को असरबाट प्रभावित भई उद्योग व्यवसाय सञ्चालन गर्न नसकेका उद्योगलाई कम्पनी वा संस्थाहरूलाई करमा लगाएको जरिवानामा छुट दिन र किस्ताबन्दीमा कर तिर्न सक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । 

यादवले भारतीय सीमासँग जोडिएको नाकाबाट उपभोगका वस्तु ल्याउन ५० हजार रुपैयाँसम्मको सामानमा भन्सार छुट दिनुपर्ने प्रस्ताव उल्लेख गरेका थिए । सरकारले गर्ने सम्पूर्ण राजनीतिक तथा संवैधानिक नियुक्ति दलीय भागबन्डाका आधारमा मात्र नभई योग्यता, क्षमता र अनुभवका आधारमा समानुपातिक सिद्धान्तका आधारमा गर्नुपर्ने सुझावपत्रमा उल्लेख छ । 

त्यस्तै, बारा जिल्लाको कबई, सिम्रौनगढ र बाँके जिल्लाको सुइया बधौडालगायत स्थानमा छोटी भन्सार पुनः सञ्चालन गर्नसमेत यादवले माग गरेका छन् । सुझावपत्रमा सरकारले तराई/मधेशमा खटिएका प्रहरी प्रशासनलाई जनताप्रति जिम्मेवार र अनुशासित बनाउन, प्रहरी प्रशासनको ज्यादती र दमन बन्द गराउनुपर्ने यादवको अन्तिम प्रस्ताव छ ।

यस्ता छन् सुझाव

  • शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चारलगायत क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिने
  • सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने
  • प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी समायोजन गर्ने, संघीय निजामती ऐन अध्यादेशद्वारा जारी गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्ने
  • संघीय र प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने, प्रदेश सरकारलाई दिने अनावश्यक खर्च कटौती गर्ने
  • संविधान संशोधन गरी परिमार्जन गर्न संविधानविज्ञ सम्मिलित आयोग गठन गरेर राय–सुझाव लिन र सोहीअनुसार संविधान संशोधनका लागि आवश्यक प्रयास गर्न पनि आग्रह
  • जनसंख्याका आधारमा संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रको पुनर्निधारण गर्नुपर्ने
  • गरिबीको रेखामुनि रहेका दलित तथा विपन्न वर्गलाई सरकारले निःशुल्क तालिम उपलब्ध गराउनुपर्ने 

सुझावित समाचार