काठमाडौं महानगरपालिकाले भोलि (बिहीबार)देखि महानगरभित्र सुर्तीजन्य वस्तु बिक्री र प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । महानगरको निर्देशनविपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेमा पहिलो र दोस्रोपटक जफत गर्ने र तेस्रोपटक पनि फेला परे पसल नै सिल गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य सहर निर्माण गर्ने अभियानस्वरूप बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोग निधेष गर्न लागेको महानगरअन्तर्गत स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए । ‘२९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पुर्याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय भएको हो,’ उनले भने ।
रामप्रसाद पौडेल प्रमुख, स्वास्थ्य विभाग, काठमाडौं महानगर
२९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पुर्याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय भएको हो ।
बिक्री रोक्न महानगर प्रहरी परिचालन
महानगरले सुर्तीजन्य पदार्थ बिक्री र प्रयोग नियन्त्रण गर्न महानगर प्रहरी परिचालन गर्ने जनाएको छ । दोस्रो दिन पनि त्यस्ता सामग्री वितरण भएको पाएमा सामान जफत हुनेछ । तेस्रो दिन पनि दोहोरिए पसल सिल गर्ने भएको छ । ‘हामीले यो अभियानलाई सार्थकता दिन नगर प्रहरी परिचालन गर्नेछौँ । महागरभित्रका पसलमा त्यस्ता सामग्री देखे पहिलो दिन नगर प्रहरीले प्रश्न गर्दैन । सामान बोकेर हिँड्नेछ । दोस्रो दिन पनि सामान देखे जफत नै गर्नेछ । तेस्रो दिन पनि बेचबिखन गरे पसल सिल गर्नेछ,’ उनले भने ।
विभागले १५ दिन दिएर १२ मंसिरमा सार्वजनिक सूचना जारी गर्दै सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने बताएको थियो ।
यस्तो छ, ऐनमा व्यवस्था
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, ०६८ र काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन, ०८० मा सुर्तीजन्य पदार्थ बिक्री–वितरण नियन्त्रण र नियमन गर्ने प्रस्ट व्यवस्था छ । महानगरले जारी गरेको जनस्वास्थ्य ऐन, ०८० को दफा ४२ मा सार्वजनिकस्थलको चार किल्ला तोकेर त्यसवरपर सुर्तीजन्य र जंक फुड बिक्री–वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि सोसम्बन्धी व्यवस्था छ ।
०६८ सालमा जारी ऐनको दफा ४ मा सार्वजनिक स्थलहरू (शिक्षण संस्था, विमानस्थल, बालकल्याणगृह, क्लबहरू, सार्वजनिक शौचालय, होटेल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका स्थलहरूमा धूम्रपान, चुरोट, बिँडी, सिगार तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा) सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरेको छ । अनुसन्धान विशेषज्ञ डा. जयकुमार गुरुङका अनुसार नेपालमा करिब ५० लाखले धूम्रपान गर्छन् । अहिलेको अवस्थालाई नियन्त्रण नगर्ने हो भने अबको २७ वर्षपछि अर्थात् सन् २०५० सम्ममा हरेक वर्ष करिब ५२ हजार नेपालीको मृत्यु सुर्तीजन्य वस्तुको प्रयोगका कारण हुनेछ । सार्वजनिक स्थानमा धूम्रपान गरेको नगर प्रहरीले देखेमा फोहोरमैला व्यवस्थापन ऐन र जनस्वास्थ्यअन्र्तगत रहेर कारबाही गर्नेछ ।
महानगरका अनुसार पहिलो दोस्रो चरणमा भने हुक्का, तमाखु नियन्त्रणको कार्यक्रम चलाइनेछ । पौडेलका अनुसार पहिलो चरणको यो अभियानको प्रतिक्रिया हेरेर दोस्रो चरणमा हुक्का, तमाखु नियन्त्रणको कार्यक्रम चलाइनेछ ।
२९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पुर्याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय भएको हो ।