महासमिति बैठक सार्ने देउवाको प्रयास

महासमिति बैठकबारे रणनीति बनाउन शेखरले बोलाए इतर समूहको भेला

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

नीति अधिवेशन गर्ने गरी हुन लागेको महासमिति बैठकबारे छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आगामी शुक्रबार बस्ने बैठकमा तीनवटा एजेन्डा तय भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा महासमिति बैठक, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक एजेन्डा समावेश छन् । 

स्रोतका अनुसार बैठकमा सभापति देउवाले १६ देखि १९ पुससम्मका लागि तय भएको महासमिति बैठकको मिति सार्ने प्रस्ताव लाने तयारी गरेका छन् ।मध्यपुसमा ठण्डी बढ्ने र माघमा राष्ट्रियसभाको निर्वाचनमा ध्यानकेन्द्रित गर्नुपर्ने भएकाले फागुनका लागि महासमिति बैठकको मिति प्रस्ताव गर्नसक्ने नेताहरूको भनाइ छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले बुधबार इतर समूहको भेला बोलाएका छन् । भेलामा आफूपक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र १४औँ महाधिवेशनमा उम्मेदवार रहेकाहरूलाई बोलाइएको छ । केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलका अनुसार भेला महासमिति बैठकमा प्रस्तुत हुने रणनीतिका विषयमा केन्द्रित हुनेछ । ‘कार्यसम्पादन समिति बैठकअघि इतर समूहको भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्न लागेको हो । छलफल महासमिति बैठक केन्द्रित हुनेछ,’ उनले भने । 

कोइरालाले मंगलबार भेला डाकेका थिए । तर, कुनै सल्लाहविना कोइरालाले भेलाको मिति तय गरेपछि महामन्त्री गगन थापा असन्तुष्ट बनेका थिए । मंगलबार नै थापाको मधेश प्रदेशमा कार्यक्रम तय भएको थियो ।  निर्धारित कार्यक्रम रद्द गरेर भेलामा सहभागी हुन नसक्ने भएपछि बुधबारका लागि भेला सारिएको हो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सबैको सल्लाहमा बुधबारका लागि बैठक सारिएको जानकारी दिए । ‘सबैको सहमतिमा बुधबारका लागि बैठक सारिएको हो । यसमा कुनै विवाद छैन,’ उनले भने । शुक्रबारका लागि तय कार्यसम्पादन समिति बैठकमा सभापति देउवाले महासमिति बैठकको मिति सार्ने प्रस्ताव गर्नसक्ने भएकाले इतर समूहले त्यसअघि नै आफ्नो धारणा तय गर्ने भएको छ ।

यस्तै, कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा मंगलबारबाट दोस्रो चरणको कार्यक्रम थाल्ने भएको छ । महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले २६ मंसिरदेखि ६ पुससम्म दोस्रो चरणको कार्यक्रम गर्ने निर्णय गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले हजारवटा अस्थायी घरटहरा बनाउने अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम घोषणा गरिएको हो । यसक्रममा अस्थायी घरटहरा निर्माणका लागि केन्द्रीय सदस्यको नेतृत्वमा घरटहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली खटिने कांग्रेसले जनाएको छ ।

See More On

सुझावित समाचार