४० मेगावाट विद्युत् किन्ने प्रस्ताव बंगलादेशको सरकारबाट स्वीकृत

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

 बंगलादेशको सरकारले नेपालबाट ४० मेगाावाट विद्युत् किन्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट सोबराबरको विद्युत् किन्ने निर्णय बंगलादेशले गरेको हो । 

बुधबार सम्पन्न बंगलादेशको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद्ले नेपालबाट विद्युत् किन्ने प्रस्ताव स्वीकृत गरेको त्यहाँको न्यु एज बिजनेसमा समाचार छ । प्रत्यक्ष खरिद प्रक्रियाबाट नेपालबाट विद्युत् किन्ने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । बैठकको अध्यक्षता त्यहाँका अर्थमन्त्री आह्म मुस्तफा कमलले गरेका थिए ।

नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले पनि बंगलादेशले नेपालबाट विद्युत् किन्ने प्रस्ताव स्वीकृत गरेको अनौपचारिक जानकारी आएको बताए । सम्भवतः अब छिट्टै यसको औपचारिक जानकारी आउने उनको विश्वास छ ।

योसँगै अब बंगलादेशमा विद्युत् निर्यात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । 

सुझावित समाचार