कोप २८ ले सम्बोधन गर्नुपर्ने मुद्दा

बिहिबार, २१ मंसिर, २०८०
डिजिटल संस्करण

आठ वर्षअघि पेरिसमा विश्वले एउटा महत्वाकांक्षी लक्ष्यमा सहमति जनायो– जलवायु परिवर्तनको थप खतरनाक स्तरलाई सीमित गर्न तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने । सो सहमति भएदेखि हरितगृह ग्यास उत्सर्जन रोकिनुको साटो निरन्तर बढ्दै गएको छ ।

डढेलोदेखि अभूतपूर्व बाढीजस्ता जलवायु प्रकोप विभिन्न सञ्चारमाध्यमका प्रथम पृष्ठका समाचार बनेका छन् । सन् २०२३ मा विश्वको औसत तापक्रम पूर्व–औद्योगिक कालको स्तरभन्दा १.२ डिग्री सेल्सियस बढिसकेको छ । यसले ताप लहरको तीव्रता बर्सेनि बढाइरहेको छ । अब हामीसँग पेरिसमा सम्झौता गरिएअनुसारको १.५ डिग्री सेल्सियसको वृद्धिमा पुग्न १० वर्षभन्दा कम समय छ ।

जलवायु वैज्ञानिक र विश्व नेताहरूको निरन्तरको कडा चेतावनीहरूको पृष्ठभूमिमा यो साता कोप–२८ जलवायु वार्ता सुरु भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अब पनि हरितगृह ग्यास उत्सर्जन कम गर्न र जलवायु–प्रेरित प्रभावका लागि लचिलोपन र अनुकूलन क्षमतालाई बलियो नबनाउने हो भने हामीले ‘नरकका ढोकाहरू खोलेसरह हुने’ चेतावनी दिएका छन् । दुबईमा राष्ट्रसंघको जलवायु ढाँचामा १९८ देश कोप–२८ का लागि भेला भइरहेका छन् । त्यहाँ के वास्तविक प्रगति वा आंशिक उपाय हासिल होला ? यहाँ सहभागी देशले सामना गरिरहेका तीन प्रमुख विषय उल्लेख छ :

जलवायु कदमको प्रगतिमाथि समग्र मूल्यांकन
यस वर्ष एक महत्वपूर्ण मुद्दा विश्वव्यापीस्तरमा जलवायु संरक्षण कदममा भएको प्रगतिको मूल्यांकन हुनेछ । यो सन् २०१५ को पेरिस सम्झौताअन्तर्गत जलवायु महत्वाकांक्षालाई वृद्धि गर्न निर्माण गरिएको मुख्य संयन्त्र हो । प्रत्येक राष्ट्रको उत्सर्जन कटौती लक्ष्यहरू र जलवायु अनुकूलन अथवा आर्थिक विस्तार योजनाहरूबाट लाभहरू पहिलोपटक मूल्यांकन हुँदै छ । हामी कुन मार्गमा छौँ भन्ने प्रगति मूल्यांकनले बताउँछ । के सबै देशबाट संयुक्त उत्सर्जन कटौतीको वाचाको मतलव हामीले तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सक्छौँ ? होइन भने ‘उत्सर्जन अन्तर’ के हो र राष्ट्रको उत्सर्जन कटौती कति धेरै महत्वाकांक्षी हुनुपर्छ ?

यसमा प्रगति भएको छ, तर पर्याप्त भएको देखिँदैन । सबै राष्ट्रिय उत्सर्जन प्रतिबद्धता वास्तविकतामा परिणत भए २.१ देखि २.८ डिग्री सेल्सियसको बीचमा हुने वैश्विक उष्णता उच्चतम हुनेछ । यसले सन् २०३० सम्मको अवधिमा लगभग २२.९ गिगाटन कार्बन–डाइअक्साइडबराबर उत्सर्जन अन्तर छोड्छ । यो एक हिसाबले राम्रो हो । किनकि सबैभन्दा खराब अवस्थाहरू, अनियन्त्रित उष्णता र सन् २१०० सम्म चार डिग्रीभन्दा बढी विश्वव्यापी ताप अब असम्भव देखिन्छ । तर, दुई डिग्री सेल्सियसको संसारले अस्वीकार्य हानि र अपरिवर्तनीय क्षति ल्याउनेछ ।

यदि हामीले विश्वव्यापी रूपमा सन् ०५० सम्ममा नेट जिरो कार्बनको लक्ष्य हासिल गर्ने हो भने सन् ०१९ को स्तरको तुलनामा सन् ०३० सम्ममा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन ४३ प्रतिशत र ०३५ सम्ममा ६० प्रतिशतले घटाउनुपर्छ । यसका लागि धेरै महत्वाकांक्षी लक्ष्य र प्रतिबद्धता चाहिन्छ । कोप–२८ को सफलताको मापन प्रमुख उत्सर्जन राष्ट्रहरूले कत्तिको महत्वाकांक्षी उत्सर्जन कटौती लक्ष्यमा सहमत जनाउँछन् भन्नेमा निर्भर हुनेछ ।

जलवायु परिवर्तनले निम्त्याएको क्षतिको भर्पाई कसले गर्छ ?
दशकौँदेखि राष्ट्रहरू जलवायु परिवर्तनबाट हुने नोक्सान र त्यसको क्षतिपूर्ति कसले भुक्तानी गर्ने भन्ने जटिल प्रश्नमा कुस्ती खेलिरहेका छन् । अब हामी नयाँ नोक्सान तथा नोक्सान कोषको प्रबन्धलाई अन्तिम रूप दिने तयारी नजिक छौँ । यो कोप–२८ मा वार्ताकारहरूका लागि दोस्रो प्रमुख मुद्दा हुनेछ ।

हालसम्म सरकारले नयाँ कोषको खाका तयार गरिसकेको छ । कोषको व्यवस्थापन कसले गर्ने भन्ने बहसको अपेक्षा गर्नुहोस्, विश्व बैंक, राष्ट्रसंघीय निकाय र चीनजस्ता उदीयमान अर्थतन्त्रहरूले कोष उपलब्ध गराउँछन् वा गराउँदैनन् भन्ने हो । आजको मितिसम्म कोषमा कति रकम छ र यसले कति वितरण गर्छ भन्ने कुनै लक्ष्य छैन । यो काम सुरु गर्नुअघि यो खाका औपचारिक रूपमा कोप–२८ मा अपनाइनुपर्छ ।

नयाँ कोष किन ?अन्य जलवायु वित्त प्रतिबद्धताहरू उत्सर्जन कटौती गर्ने वा समाजलाई जलवायु प्रभावसँग अनुकूलन गर्न मद्दत गर्ने उद्देश्यका छन् । यो कोष विशेषगरी जलवायु परिवर्तनका अपरिहार्य प्रभावहरू, जस्तै– समुद्री सतह बढ्दै जाने, लामो समयसम्म तातो लहर, मरुभूमीकरण, समुद्रको अम्लीकरण, चरम मौसम र बाली असफलताबाट हुने हानि र नोक्सानसँग सम्बन्धित छ । उदाहरणका लागि पाकिस्तानमा अभूतपूर्व बाढीबाट भएको क्षतिबारे सोच्नुहोस् ।

कहाँ छ जलवायु वित्त ?
जलवायु वार्तामा एउटा प्रमुख मुद्दा भनेको देशहरूले कसरी आफ्नो अर्थतन्त्रलाई परिवर्तन गर्न सक्छन्, ताकि कम उत्सर्जन र बढ्दो लचिलोपनका साथ तिनीहरू ‘क्लाइमेट रेडी’ (खडेरी, अधिकवर्ष, बाढीजस्ता जलवायुमा भएको ठूलो परिवर्तनमा प्रतिक्रिया नदिने, बरु प्रभावकारी प्रबन्धका लागि योजना बनाउने) बनून् । यसका लागि विकासोन्मुख देशका लागि ठूलो स्तरको लगानी र नयाँ प्रविधि आवश्यक पर्छ, जसले उनीहरूलाई जीवाश्म इन्धनमाथिको निर्भरताबाट अगाडि बढ्न अनुमति दिनेछ । यो एक महत्वपूर्ण गतिहीनता हुने सम्भवना छ । हालसम्म जलवायु वित्त धेरै सुस्त गतिमा प्रवाह भएको छ । पेरिस सम्झौताअन्तर्गत धनी देशले प्रत्येक वर्ष १५० अर्ब डलरको कोष उपलब्ध गराउने वाचा गरेका थिए । यो जम्मा हुन ढिला भएको छ, यद्यपि सन् २०२१ मा १३० अर्ब डलर प्रवाह भएको थियो ।

नोक्सान र क्षति कोषलाई वास्तविकता बनाउने र विद्यमान प्रतिबद्धता पूरा गर्नेलगायत जलवायु वित्तमा महŒवपूर्ण प्रगति नदेखेसम्म हामी मूल्यांकन संयन्त्रअन्तर्गत उत्सर्जन कटौती गर्ने, जीवाश्म इन्धनलाई फेज आउट गर्ने र जैविक विविधता संरक्षणजस्ता अन्य प्रमुख मुद्दामा प्रगति देख्ने सम्भावना छैन ।

आमसहमति कसरी बन्छ ?
जलवायु वार्ता सुस्त गतिमा अगाडि बढ्नुको एउटा कारण आमसहमतिको आवश्यकता हो । वार्तामा सबै १९८ सरकार प्रत्येक निर्णयमा सहमत हुनुपर्छ । कुनै एक राष्ट्र वा देशको समूहले प्रस्ताव रोक्न वा अनुमोदनका लागि शब्दहरू परिवर्तन गर्न बाध्य पार्न सक्छ । साना टापु राष्ट्रहरू र कम विकसित देशको भोटले जी–२० राष्ट्रहरूको जत्तिकै महत्व राख्छ । – जी–२० ले विश्वव्यापी जिडिपीको लगभग ८५ प्रतिशत ओगटेको छ) । यसले विगतमा ग्लोबल वार्मिङ लक्ष्य १.५ डिग्री सेल्सियसमा जोड दिएसँगै जलवायु कार्यको स्तर बढाउने काम गरेको छ । कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल–जाबेर हुन्, जो अबुधाबी राष्ट्रिय आयल कम्पनीको प्रमुखको कारणले विवादमा तानिएका छन् । वार्ताका क्रममा वाक्यांशमा पर्याप्त बहस हुने पनि अनुमान गर्न सकिन्छ । के सरकारहरू ‘जीवाश्म इन्धनलाई निरन्तर कटौती’ वा ‘अनियन्त्रित जीवाश्म इन्धनको कटौतीमा’ सहमत हुनेछन् ?
ब्रेन्डन म्याकेले द कन्भर्सेसनका लागि लेखेको आलेख 
 

See More On

सुझावित समाचार