कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि किसान खुसी भएका छन् । हिउँदे बालीका लागि यतिवेलाको हिउँ राम्रो मानिन्छ ।
हुम्ला, मुगु, मनाङ र बागलुङको ढोरपाटन क्षेत्रमा सोमबार हिमपात भएको हो । चिसोका कणमिश्रित पश्चिमी वायु पहाडी तथा हिमाली क्षेत्रमा बहँदा मुगुको रारा, हुम्लाको सिमकोटलगायत क्षेत्रमा एक फिटसम्म हिमपात भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘उच्च हिमाली क्षेत्रमा यसअघि पनि (यस सिजनको) हल्का हिमपात भएको थियो, तर सोमबार भने क्षेत्रगत र परिमाणका हिसाबले पहिलो हिमपात हो,’ मौसमविद् अधिकारीले भने ।
यसपालि वेलैमा हिमपात भएपछि हुम्लाको सर्केगाड गाउँपालिका– ३ की २८ वर्षीया शोभा फडेरा बाली राम्रो हुने भन्दै खुसी छिन् । उनले गहुँ, जौ र ऊवा लगाएकी छिन् । समयमै हिउँ परेपछि मंसिरमा छरेर जेठमा भित्र्याउने बाली राम्रो हुने संकेत देखिएकाले किसान हर्षित छन् । मंसिर–पुसमा बाक्लो हिमपात भएमा चैत–वैशाखमा लगाइने कोदो, फापर, चिनो, मार्से लट्टे, भटमास, सिमी, कागुनो, आलुको उत्पादन बढ्छ ।
हुम्ला सदरमुकाम सिमकोट, उत्तरी नाम्खा गाउँपालिकाका अधिकांश भू–भागमा हिमपात भएको छ भने हुम्लाकै दक्षिणी भेग सर्केगाड, चंखेली, ताजाकोट र अदानचुली गाउँपालिकामा हल्का वर्षा भएको छ । मुगुका यार्सा पाटनहरू, कोइकी हिमाल, डोल्फु, घुच्ची, बुलबुले, सातताल, दुधताल, बाम, ऋणीमोक्ष, खेस्मालिका, सोरुकोटलगायत क्षेत्रमा पनि हिमपात भएको छ । डोल्फु गाउँका नेग्मा सेराव लामाका अनुसार आइतबार रातिबाट बदली भएकामा सोमबार बिहानै हिमपात भएको हो । मुगु सदरमुकाम गमगढीमा भने वर्षा भएको छ । हिमपातका कारण सोमबार नेपालगन्ज र सुर्खेतबाट सिमकोट विमानस्थलमा उडानसमेत हुन सकेन ।

मनाङ र बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पनि हिमपात भएको छ । आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलका अनुसार यहाँ यस सिजनको पहिलो हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ ।
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसमविद् अधिकारीले बताए । हिउँदमा पश्चिमी वायुले तराई र पहाडी क्षेत्रमा वर्षा गराउँछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात गराउँछ ।
बदलीसँगै काठमाडौंमा चिसो, तराईमा हुस्सु
पश्चिमबाट पूर्व सर्दै गएको बादलले सोमबार दिनभर काठमाडौंको आकाश ढाक्दा उपत्यकामा चिसो बढेको छ । आइतबारको तुलनामा सोमबार काठमाडौंको अधिकतम तापक्रम ४ डिग्री सेल्सियसले झरेको थियो । सोमबार अधिकतम तापक्रम १७.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन भयो । आइतबार अधिकतम तापक्रम २१.२ डिग्री सेल्सियस थियो ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार मंगलबार भने काठमाडौंको मौसममा केही सुधार आउन सक्छ । ‘काठमाडौंमा तत्काल वर्षाको सम्भावना छैन, आकाश बादलले ढाकेर चिसो भएको हो । आकाश खुल्दै पश्चिमी वायुको असर पूर्व सर्दै जाँदा काठमाडौंमा घाम लाग्न सक्छ,’ उनले भने, ‘मंगलबार कोशी र मधेश प्रदेशमा बदलीको सम्भावना छ ।’
हाल नेपालमा पश्चिमी वायुको प्रभावसँगैै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको असर छ । यसबाहेक बंगालमा बनिरहेको चक्रवातको असरका कारण पनि मंगलबार र बुधबार मधेशसँगै कोशीमा बदली हुन सक्ने अनुमान छ । मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।
बदलीसँगै तराईमा भने हुुस्सु लाग्न थालेको छ । सोमबार बिहान सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमतीका तराईमा सामान्य बदली थियो भने धनगढी, नेपालगन्ज, भैरहवा, जनकपुर र विराटनगरमा हुस्सु लागेको थियो । हुस्सुका कारण भिजिबिलिटी (पारदर्शिता) पनि घट्न थालेको मौसमविद् अधिकारीले बताए ।