हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरूमा हिमपात सुरु भएको छ। यस वर्ष पहिलोपटक हिमपात हुन सुरु भएको हो।
आइतबार रातिबाट मौसममा बदली हुँदै गए पनि सोमबार बिहानैदेखि उच्च भू–भागमा हिउँ र बेँसीतिर पानी पर्न सुरु गरेको छ।
मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटनहरू , कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए। नेपालकै प्रमुख पर्यटकीयस्थल रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न थालेको र चिसो पनि अत्यधिक बढेको त्यहाँका स्थानीयको भनाइ छ।
रारा घुम्न आएका पर्यटकहरू हिमपात र पानी पर्नाले हवाई र स्थलमार्ग बन्द हुन सक्ने भन्दै बिहानै राराबाट घरतर्फ जान तरखर गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
जिल्लाका अन्य भेग क्षेत्र घुच्ची, बुलबुले, सात ताल, दुधताल, चन्खेली, बाम, रिणिमोक्ष, खेस्मालिका, सोरुकोट मा पनि हिउँ पर्न सुरु भएको छ।
सदरमुकाम गमगढीमा पानी लगातार पानी परेको छ। बढी पानी र हिउँ परेर सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री अभाव हुन्छ कि भन्ने व्यापारीहरूमा पिरलो सुरु भएको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए।
पानी र हिमपात हुन थालेपछि हिउँदे बाली गहुँ, जौ र हिमाली बाली उवा र नाफल खेती राम्रो हुनेमा कृषकहरू आशावादी छन्। त्यस्तै, हिमाल यार्सा, जडीबुटीहरू पनि वृद्धि, गुणस्तरको हुने भन्दै कृषक तथा जडीबुटी व्यापारीहरू खुसी भएका छन्।