धरौटी बुझाए पनि छुटेनन् भुटानी शरणार्थी प्रकरणका प्रतिवादी : सम्पत्ति शुद्धीकरण र अख्तियारले अनुसन्धान गरिरहेकाले तत्काल रिहा नहुने

सोमबार, १८ मंसिर, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा रिहा गरेको प्रतिवादी केही अवधि हिरासतमै रहने देखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीहरूविरुद्धको अनुसन्धान जारी रहेकाले तत्काल रिहा नहुने देखिएको हो । 

उच्चको आदेशपछि आइतबार प्रतिवादीमध्येका नरेन्द्र केसी, हरिभक्त महर्जन, आशिष बुढाथोकी र शमशेर मियाँ धरौटी रकम बुझाउन जिल्ला अदालत काठमाडौं पुगेका थिए । उनीहरूले आदेशबमोजिमको धरौटी रकम पनि बुझाएका थिए । तर, हिरासतमुक्त भएलगत्तै कार्यालयमा उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनीहरू आइतबार रिहा हुन सकेनन् । 

सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय कारागारका प्रमुख ललितकुमार बस्नेतले धरौटीमा रिहा भएका प्रतिवादीलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारमा पेस गर्नुपर्ने भएकाले रिहा नभएको बताए । ‘उच्च अदालतको आदेशपछि चार प्रतिवादीलाई आइतबार जिल्ला अदालतले धरौटी बुझाउन पत्र लेख्यो । पत्रअनुसार उनीहरूले अदालत पुगेर धरौटी रकम पनि बुझाए । तर, उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारमा पनि बुझाउनुपर्ने भन्दै हामीकहाँ पत्र आएको थियो । आइतबार बुझाउन नसकिएकाले उनीहरूलाई कारागारमै राखिएको छ । सोमबार सम्बन्धित कार्यालयमा पेस गर्छौँ,’ उनले भने ।

नौ दिनसम्म लगातारको सुनुवाइपछि उच्च अदालत पाटनले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा १० प्रतिवादीलाई धरौटी तथा साधारण तारेखमा रिहा गर्ने ओदश गरेको थियो । जसमध्ये केसीलाई १० लाख, महर्जनलाई १५ लाख, मियाँलाई १० लाख, सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाललाई १५ लाख र रामशरण केसीलाई १५ लाख धरौटी रकम बुझाउन भनेको थियो । लक्ष्मी महर्जन, टंक गुरुङ, आशिष बुढाथोकी र केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न भनेको थियो । तर, जिल्ला अदालत काठमाडौंले आइतबार केसी, महर्जन र मियाँलाई मात्रै धरौटी रकम बुझाउन भन्दै पत्र लेखेको थियो । बाँकी प्रतिवादीको हकमा भने अदालतले पत्र लखेको छैन । त्यसो हुँदा उनीहरू पनि अहिले कारागारमै छन् । 

गत १५ मंसिरमा भएको आदेशमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका ‘हाई प्रोफाइल’ नौजनालाई भने थुनामै राख्ने भनिएको छ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको हकमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलकै मत बाझिएको थियो । निर्णयका लागि तेस्रो न्यायाधीशको मत आवश्यक पर्ने आदेशमा भनिएको थियो । 

भुटानी शरणार्थीका नाममा नेपाली नागरिकलाई अमेरिका पुर्याइदिने प्रलोभनमा करोडौँ रकम ठगी गरेको खुलेपछि मुद्दा दर्ता भएको थियो । प्रहरीले ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी कसुरमा कुल ३० जनामाथि मुद्दा चलाएकोमा २० जनालाई अदालतमा उपस्थित गराएको थियो । 

उच्च अदालत पाटनमा ५ मंसिरदेखि सुनुवाइ प्रारम्भ भएकोमा गत १५ मंसिरमा संयुक्त इजलासले आदेश गरेको थियो । जसअनुसार पूर्वमन्त्री रायमाझी र तत्कालीन गृहसचिव पाण्डेसँगै डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र पूर्वसांसद आङटावा शेर्पा पुर्पक्षका लागि थुनामै रहनेछन् । उनीहरू सबैलाई १ असारमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो, जसलाई उच्चले पनि सदर गरेको हो । भण्डारी र दुलाल यो ठगी प्रकरणका मुख्य योजनाकार हुन् । 

सुझावित समाचार